‘जय हो’को छायांकन सकियो, सलोन र केकीको यस्तो लुक्स


शोभित बस्नेको प्रस्तुतिमा तयार भएको फिल्म ‘जय हो’को छायांकन ३० दिनमा सकिएको छ । मुक्तिनाथमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको जानकारी प्रस्तुत कर्ता बस्नेतले दिएका छन् । यो फिल्मको छायांकन कास्की र मुस्ताङका रमणीय स्थानमा गरिएको छ ।

टेक पौरखी राइको निर्देशनमा तयार भएको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय छ । फिल्ममा सम्राट बस्नेको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन, समीर मियाको भीएफएक्स छ ।

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ । भदौको ८ गतेबाट विश्व भर रिलिज हुने फिल्मलाई कमेडी, एक्सन र लभ स्टोरी जनरामा तयार पारिएको निर्माण पक्षले बताएको छ । 

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी छ । फिल्मको छायांकन सकिएसँगै यसको निर्माण पक्षले मुख्य कलाकारद्वय सलोन र केकीको लुक्स पनि सार्वजनिक गरेको छ ।