शो नपाएपछि ‘बुलाकी’लाई हलबाट फिर्ता लिने निर्माताको घोषणा
नेपाली फिल्म क्षेत्रले अर्को बिडम्बना पूर्ण घटना भोगेको छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बुलाकी’को निर्माण टिमले हल नपाएको र फिल्म डुबाउने खेल खेलेको भन्दै आज आइतबारेबाट फिल्मलाई हलबाट निकाल्ने घोषणा गरेको छ ।
फिल्मका कलाकार तथा निर्माता विराज विष्टले सामाजिक संजालमार्फत फिल्मलाई हलबाट फिर्ता लिइएको जानकारी दिएका छन् । उनले, चौतर्फी रुपमा राम्रो प्रतिक्रिया पाउँदा पनि फिल्मलाई घेराबन्दी गरेर निर्माता डुबाउने खेल खेलिएको भन्दै यो कुरा मान्न आफूहरू तयार नभएको लेखेका छन् ।
फिल्म ‘जारी र बिहे पास’को चेपुवामा फिल्म ‘बुलाकी’ परेको थियो । शुक्रबार, फिल्मले राम्रो व्यापार गर्दा गर्दै पनि शनिबार मल्टिप्लेक्सहरुले फिल्मको शो घटाएका थिए । आइतबारदेखि त फिल्मको शो झनै न्यून अवस्थामा झारिएको छ ।
यसैले, फिल्मको टिमले आइतबारदेखि सबै हलबाट फिल्म निकाल्ने र विदेशमा प्रदर्शन गर्ने घोषणा गरेको हो । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य भूमिका छ । फिल्मले समीक्षक र दर्शकको राम्रो प्रतिक्रिया पनि पाइरहेको थियो । तर, फिल्मलाई उचित शो टाइम दिइएको थिएन । कतिपय हलमा त फिल्मलाई बिहानको एक शोमा खुम्च्याइएको थियो ।
निर्माणपक्षले फिल्म हलबाट उतार्नु को कारण यसरी खुलाएको छः
१. दर्शकको राम्रो प्रतिक्रिया हुँदा हुँदै चलचित्रलाई हल व्यवसायीले गरेको अपहेलना ।
२. प्राप्त सबै शोज अफ टाइममा ।
३. मोफसलका मुख्य स्टेसनमा १ शो पनि उपलब्ध नगराएको ।
४. चलचित्रलाई अपहेलना गरेर दिइएका प्रायः सबै शोजहरु एकाबिहान मात्र उपलब्ध गराएको ।
५. चलचित्र प्रदर्शन भएको दोस्रो दिन बाटै ७०५ शो कटौती गरेको ।
६. फर्स्टलूक पोस्टर सार्वजनिक देखि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास्ता गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भ्रूण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शोज उपलब्ध गराएको ।
प्रतिक्रिया