‘जारी’ले दुई दिनमा कमायो साढे चार करोड
नयाँ वर्षको वैशाख १ गते अर्थात् हिजो शुक्र बाह्रबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएसँगै फिल्मलाई देशैभरका मल्टिप्लेक्सले हालसम्म उच्च शोज उपलब्ध गराएका छन् ।
फिल्मले शुक्रवार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा डेढ करोडको कारोबार गरेको छ । आज शनिवार पनि फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरेको छ । जसका कारण, फिल्मले रिलिजको दोस्रो दिन तीन करोडको हाराहारीमा व्यापार पुर्याएको छ । यसरी दुई दिनको व्यापार हेर्दा फिल्म ‘जारी’ले साढे चार करोड रुपैयाँ कमाउन सफल भएको छ ।
उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्मलाई प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया मिल्नुका साथै फिल्म हेर्न पुगेका कलाकारहरूले खुलेरै प्रशंसा गरेका थिए । उनीहरूले लामो समयपछि एउटा उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै प्रशंसा गर्न सम्म भ्याएका छन् ।
‘जारी’को बम्पर ओपनिङले यो नयाँ वर्ष नेपाली फिल्मका लागि गज्जबको सुरुवात भएको छ । यो वर्ष प्रतीक्षित थुप्रै नेपाली फिल्महरू रिलिजका लागि तयार भइरहेकाले पनि नेपाली फिल्मका लागि वि.सं २०८० सुखद हुने देखिएको छ ।
यो फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थका ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।
प्रतिक्रिया