‘जारी’को आक्रामक सुरुवात, उत्कृष्ट प्रतिक्रिया
आजबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । बूकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएको थियो ।
फिल्मले शुक्रबार बिहानबाट देश भरका सबै जसो हलमा सतप्रतिशतको अकुपेन्सीमा कारोबार गरिरहेको छ । फिल्मलाई देशैभरका मल्टिप्लेक्सले उच्च शोज उपलब्ध गराएका छन् । फिल्मले सबै जसो शोजमा आक्रामक व्यापार गरिरहेको छ । जसका कारण, फिल्मको व्यापार पहिलो दिनमै डेढ करोडको हारहारीमा हुने देखिएको छ ।
उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङको लगानीमा तयार भएको यो फिल्मलाई प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । फिल्म हेर्न पुगेका कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत, ऋचा शर्मा, बेनिशा हमाल, वर्षा सिवाकोटी, अरुण क्षेत्री, अन्जना बराइली लगायतले यसको खुलेरै प्रशंसा गरे । लामो समयपछि एउटा उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै उनीहरूले प्रशंसा गरेका थिए ।
नायक दयाहाङ राईले आज काठमाडौंको बीग मुभिजमा दर्शकहरुसँग बसेर जन्मदिनको केक काटेका छन् । दयाले दर्शकसँग भेटघाट गर्दै जन्मदिनको केक काटे र फिल्मको प्रतिक्रिया पनि लिएका छन् ।
‘जारी’को बम्पर ओपनिङसँगै यो बर्ष नेपाली फिल्मका लागि गजबको सुरुवात भएको छ । यो बर्ष प्रतीक्षित थुप्रै नेपाली फिल्महरु रिलिजका लागि तयार भइ रहेकाले पनि नेपाली फिल्मका लागि वि.सं २०८० सुखद हुने देखिएको छ ।
प्रतिक्रिया