फ्राइडे रिलिज: एकसाथ तीन फिल्म भिड्दै, ‘जारी’ आक्रामक

आज शुक्रवारदेखि हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

नयाँ सालको सुरुवात वैशाखको १ गते तीन नेपाली फिल्मको महाभिडन्तबाट सुरुवात भएको छ । यो रोचक भिडन्तमा उपेन्द्र सुब्बा निर्देशित ‘जारी’, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ छन् । तिनै फिल्म एक अर्कोसँग प्रतिस्पर्धा गर्दै देश भर प्रदर्शनमा आएका हुन् । आज शुक्रवार र शनिबारको बिदामा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गर्दै यी ३ नेपाली फिल्म रिलिज भएका हुन् । 

जसमा, उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म हो ‘जारी’ । यो फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थका ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

यस्तै, ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्तको साथमा अभिनेताद्धय नरेन खड्का र बिराज विष्टको शीर्ष भूमिका छ । कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई फिल्मको मुख्य कथा बनाइएको छ । फिल्म ‘बुलाकी’लाई बुधबार आयोजना गरेको स्पेशल स्क्रिनिङमा प्रशंसाको ओइरो नै लागेको थियो ।

यस्तै, दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको अर्को फिल्म हो ‘बिहे पास’ । प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेललगायत कलाकारको अभिनय छ । यो फिल्म सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण भएको छ । आरआर फिल्म प्रोडक्शनको व्यानरमा निर्माण फिल्ममा मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा, आकाश र सजन पटकथा र संवाद छ । यस फिल्मको रोहित कट्टेल प्रस्तुत कर्ता, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र वालकृष्ण पाख्रिन सह–निर्माता छन् ।

यसरी, तीन फिल्मको बक्स अफिस भिडन्त नेपाली फिल्मका लागि सुखद भने होइन । तर, तीन वटै फिल्मका मेकर आ–आफ्नो दाबीका साथ बक्स अफिसको झ्याल अगाडि उभिन तयार छन् । आजबाट रिलिज भएका ३ फिल्ममध्ये ‘जारी’को बूकिङ आक्रामक देखिएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् ।