‘हल्कारा’को ट्रेलर: वैदेशिक रोजगारीको कथा देखाउने प्रयास

नयाँ नेपाली फिल्म  ‘हल्कारा’को ट्रेलर सार्वजनिक भएको छ । बैशाख २९ गते रिलिज हुने यो फिल्मको बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । 

फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । ट्रेलर हेर्दा रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक युवतीको कथा समेत प्रस्तुत गरिएको देख्न सकिन्छ । 

यो फिल्मलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो फिल्मले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट फिल्म बनिसकेको छ । यस फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । 

महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भुमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको पनि अभिनय रहेको छ ।

यो फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक रहेको निर्देशक सापकोटाले बताएका छन् । “यो फिल्मलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने ।

यस्तै, अभिनेता त्रिपाठीले भन्छन् “यो फिल्म मेरो लागि एक महत्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएका छन् । मैले पनि यसमा साँच्चिकै अभिनय गर्ने मौका पाएको छु”, । 

अभिनेत्री थापाले आफूले बर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो फिल्ममा देखाउने मौका पाएको  बताइन् । त्यस्तै, कलाकार शारदा गिरीले आफू ‘हल्कारा’मा अन्य फिल्महरू भन्दा भिन्न भुमिकामा रहेको बताइन् ।

यो फिल्मले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा  महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले  उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र  यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो फिल्मको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।