प्रकृति भन्छिन्–‘निराशाका कारण फिल्म क्षेत्रबाट टाढा भएँ’


करिब ८ बर्ष अगाडि नायिका प्रकृति श्रेष्ठको चर्चा नेपाली फिल्म र म्युजिक भिडियोमा राम्रो थियो । प्रकृतिले फिल्म ‘होस्टेल’मा काम गरेकी थिइन् । केही म्युजिक भिडियोले उनलाई दर्शकमाझ राम्रोसँग चिनाएको थियो । तर, फिल्म ‘उत्सव’मा काम गरेपछि भने प्रकृति फिल्म क्षेत्रबाट एकाएक टाढा भइन् । उनले, फिल्म क्षेत्रबाट टाढा हुने निर्णय किन गरिन् ?

प्रकृति भन्छिन्–‘मैले काम त गरिरहेकी थिएँ, तर आर्थिक रुपमा मलाई कुनै साथ मिलेको थिएनँ । मैले मेरो परिवारलाई यही काम गरेर हेर्न सक्छु जस्तो लागेन । मानिसहरुले मलाई ब्याक टू ब्याक हिट फिल्म दिएकी छौं भन्थे । तर, यही क्षेत्रमा निरन्तर काम गर्न आएको मानिसलाई यहाँ नै राख्नका लागि के गरिएको छ र ? यहाँ सुरक्षित रुपमा काम गर्न सक्ने अवस्था नै थिएन ।’

प्रकृतिले फिल्म क्षेत्र अझै पनि व्यवसायिक हुन नसकेको बताइन् । उनले, फिल्म क्षेत्रमा महिला कलाकारलाई चाडै नै मुल्यांकन गर्ने गरिएको सुनाइन् । भनिन्–‘यहाँ महिला कलाकारलाई हिजो पनि चाडै मुल्यांकन गर्ने काम गरिन्थ्यो, आज पनि त्यही शैली हटेको छैन । यसै कलाकारको बारेमा हल्ला गरिदिने बानी छ । साथमा, फिल्म क्षेत्रमा अझै पनि समयको पर्वाहा गरिदैन । भैहाल्छ नी, गरिहालिन्छ नी भन्ने सोच यहाँ हाबी छ ।’

प्रकृतिले ७ बर्ष अगाडि आफूले काम गर्दा कसैले पनि अभिभावकत्व निर्वाह नगरेका कारण के गर्ने र के नगर्ने भन्ने छुट्याउन नसकेको तर्क गरिन् । 

प्रकृतिले आफूले फिल्म क्षेत्रमा फर्किनका लागि लामो समय नलगाउने सोच बनाएपनि कथा कुर्दा कुर्दै समय लागेको तर्क गरेकी छिन् । प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बिहे पास’बाट प्रकृतिले कमब्याक गरेकी छिन् । यो फिल्म भोलीबाट रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका छ ।