कैदीको पत्र'को ट्रेलर: खुसीलाई सम्हाल्न नसक्दा मानिसले ब्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ

वैशाख १५ गतेबाट रिलिज हुने फिल्म 'कैदीको पत्र'को ट्रेलर सार्वजनिक भएको छ।

फिल्मको दुई मिनेट ४७ सेकेण्ड रहेको ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरू र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ। यो फिल्म साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा 'कैदीको पत्र'मा आधारित रही बनाइएको हो।

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले ब्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक सनम कुमार बैरागले बताएका छन् ।

यस फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

फिल्ममा समावेश सबै गीतमा शब्द, पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। यस्तै, फिल्मका दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन रहेको छ ।

सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको फिल्ममा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ।

फिल्मको काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्। यो फिल्म सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो।