‘बुलाकी’को प्रिमियरमा प्रशंसाको ओइरो, कर्णालीको कथामा सुक्ष्म प्रस्तुति

वैशाख १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’लाई प्रिमियरमा प्रशंसाको ओइरो नै लागेको छ । आज बेलुकी आयोजित शोमा फिल्म हेर्न पुगेका फिल्मीकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई मुक्त कण्ठले प्रशंसा गरे । 

उसो त, यो फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले यो फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । 

तर, फिल्मले प्रिमियरमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । फिल्म हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले फिल्ममा प्रस्तुत गरेको बताए । 

फिल्म हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि यसलाई उत्कृष्ट भने । नायिका नीता ढुंगानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । यस्तै, कलाकार हरिहर अधिकारीले पनि नेपाली फिल्ममा यस्ता कथा भन्न आवश्यक रहेको सुनाए । 

कलाकार गजित बिष्ट, राज कटुवाल लगायतले पनि फिल्मले पुरा समय बाँधेर राखेको सुनाए । फिल्ममा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । फिल्म क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ । 

नायिका सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । फिल्म उनकै कथा वरि परी घुमेको छ । नयाँ कलाकार विराज विष्टको अभिनयले पनि फिल्ममा दर्शकलाई फरक अनुभुती गराउँछ । 

नयाँ निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए । फिल्म हेर्नका लागि निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, नायक पुष्प खड्का, कलाकार प्रशान्त ताम्राकार, गजित विष्ट, हरिष निरौला (क्रकोच) लगायत पनि पुगेका थिए ।