मिस मगर इटरनेशनलको घोषणा

मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको औपचारिक जानकारी गराइएको हो । 

देशभरबाट मिस मगर इटरनेशनल मा भाग लिन इच्छुकले वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० वैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ ।

आयोजक सुनगाभा नेपालले मिस मगर इटरनेशनल मा भाग लिन केही सर्तहरू राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । न्यूनतम् ५ फिट् १ इन्च उचाइ हुनुपर्नेछ । फर्मका लागि ३ हजार रूपैयाँ शुल्क तोकिएको छ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसै गरी फर्स्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले बताएको छ । नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इटरनेशनल कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै सुनगाभा नेपालका अध्यक्ष थमप्रकास पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठुलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौँ भने पछिको पुस्ताले पनि यसलाई अङ्गाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला मगर संघकि अध्यक्ष हिरु राना मगरले नेपालमा मगरको संख्या ठुलो रहेकोले मिस मगर इटरनेशनल ले लुकेर रहेका, राम्रा र क्षमतावान् प्रतिभाहरू बाहिर ल्याउन पहल गरोस् भन्ने शुभकामना व्यक्त गरिन् । ‘यो कार्यक्रमको आयोजनाले देश विदेशमा रहेका मगरलाई खुसी तुल्याएको छ ।’ राना मगरले भनिन्, ‘लुकेर रहेका प्रतिभाहरूले मिस मगर इटरनेशनल मार्फत उदाहरणीय काम गर्नेमा म विश्वस्त छु ।’

मिस मगर इटरनेशनल सिजन १ सुरु हुन लागेकोमा यस कार्यक्रमकी कोरियोग्राफर, होस्ट, मोडल तथा मिस मंगोल सन् २०१२ कि विजेता सपना रोक्काले खुसी व्यक्त गरिन् । विभिन्न विज्ञापनदाता, प्रायोजकहरूलाई सहकार्य गर्नका लागि बाटो खुला रहेको आयोजक सुनगाभा नेपालले बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल मगर महिला संघकी अध्यक्ष हिरु रानामगर, विशिष्ट अतिथिका रूपमा रिडी ग्रुपका अध्यक्ष, व्यवसायी, समाजसेवी, क्याप्टेन मन बहादुर बुढा, नेपाल गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, कानुनी सल्लाहकारका रूपमा सन्तोष रानामगर, मगर संस्कृति संघका उपाध्यक्ष नन्द घर्ती मगर र अतिथिका रूपमा होटेल रुद्रका सञ्चालक रुद्र मगर, र मोडल दीपिका थापामगर लगायतको उपस्थिति रहेको थियो ।