फिल्म क्षेत्रमा सिन्डिकेट लादिएको भन्दै ‘बुलाकी’ निर्माताको आक्रोश


बैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बुलाकी’का निर्माता तथा कलाकार विराज बिष्टले आफूहरुको फिल्मलाई उपेक्षा गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । 

मल्टिप्लेक्समा यो फिल्मलाई अन्य २ फिल्मको तुलानामा कम शोज दिइएको छ । उनले, फिल्म क्षेत्रमा आउने आफूहरु जस्ता नयाँ निर्मातालाई यस्ता अघोषित निषेधले निराश बनाएको पनि उल्लेख गरेका छन् । 

उनले, यो क्षेत्रको बारेमा हिजोका दिनमा सुन्दै आएको हल्ला आज आफैले भोग्दा सत्य साबित भएको पनि बताएका छन् । उनी लेख्छन्–‘करोडौ लगानी गरेर हलसम्म आउँदा हल संचालक, वितरक र फिल्मीकर्मीले नै रिलिजमा देखाएको सिन्डिकेटले कहिकतै निराश बनाएको छ । शोज बाँडफाँडाको समयसम्म आउँदा नयाँ मेकर भन्दै फिल्मको बिषयवस्तु र कलाकारको प्रस्तुति नहेरि मनोमानी तरिकाले शोज उपलब्ध गराउनु अनी प्रदान गरिएको शोजमा पनि उल्लेख गरेको समयप्रति चित्त दुखाई छ । उत्साहलाई निराशामा परिणत गराउने यो कस्तो क्षेत्र ? अत्याधिक शोजको आशा हाम्रो पक्कै पनि थिएन तर फिल्मको पहिलो पोष्टरदेखि टिजर ट्रेलर हुँदै गीतसम्म सार्वजनिक हुँदा दर्शकबाट प्राप्त उत्साहसहितको प्रतिक्रियालाई न्या गर्दै सम्मानित स्थानको अपेक्षा हाम्रो हो ।’

उनले, ‘बुलाकी’लाई गरिएको व्यवहारले भोलीको दिनमा यो क्षेत्रमा आउने नयाँ निर्मातालाई सोच्न वाध्य बनाएको समेत उल्लेख गरेका छन् । तर, आफूहरु विचलित नभएको पनि उनले लेखेका छन् । 

शुक्रबारदेखि ‘बुलाकी, जारी र बिहे पास’ रिलिज हुँदैछन् । तर, मल्टिप्लेक्सको शोज बाँडफाँडमा ‘बुलाकी’लाई उपेक्षा गरिएको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्ट मुख्य भूमिकामा छन् ।