३ फिल्मको शोज बाँडफाडः जारी आक्रामक, बिहे पास सुखद, च्यापियो बुलाकी
वैशाख १ गतेबाट ‘नाई नभन्नु ल ६’को टिम पछि हटेपछि अब ३ वटा फिल्म मात्र रिलिज हुने भएका छन् । यो मितिमा ‘जारी, बुलाकी र बिहे पास’ रिलिज हुने पक्का भएको छ । यी तिनै फिल्मको सेन्सर पास भइसकेको छ भने अधिकांश हलमा बूकिङ पनि खुल्ला गरिएको छ ।
यी तीन फिल्ममध्ये मल्टिप्लेक्समा सर्वाधिक शोज ‘जारी’ले पाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङ निर्मित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् ।
यो फिल्मलाई क्यूएफएक्स चेनले देश भर ५५ शोज दिएको छ । शोज अझै बढ्ने पक्का जस्तै छ । फिल्मको बूकिङ पूर्वी नेपालको विर्तामोडमा आक्रामक छ । ६ शोजबाट सुरु भएको विर्तामोडमा १० शोज पुगिसकेको छ । यो फिल्मले नयाँ बर्षको दिनमा बम्पर व्यापार गर्ने संकेत देखिएको छ ।
फिल्मलाई बीग मुभिजले ९ शोज दिइसकेको छ । शोज यो हलमा पनि अझै बढ्ने देखिन्छ । यस्तै, फिल्मलाई वान सिनेमाज्ले नयाँबानेश्वर र कालिमाटीमा गरेर १० शोज दिइसकेको छ ।
यस्तै, दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ले पनि सुखद शो पाएको छ । फिल्मका कलाकार, वितरक रोहित कट्टेलको फिल्म भएका कारण पनि यसले मल्टिप्लेक्समा राम्रो शो पाएको हो ।
यो फिल्मलाई बीग मुभिजले ३ शो दिएको छ । यस्तै, वान सिनेमाजले यो फिल्मलाई ६ शो दिएको छ । यस्तै, क्यूएफएक्स चेनमा फिल्मले ३६ शोज पाइसकेको छ । सबै हलमा फिल्मले पाएको शोजलाई सुखद मान्नुपर्छ ।
यी दुई फिल्मको तुलनामा फिल्म ‘बुलाकी’ पनि ओझेलमा परेको देखिन्छ । फिल्मलाई क्यूएफएक्सले १२ शोज मात्र दिएको छ । यो फिल्म ‘जारी’को भन्दा करिब ५ गुणा र ‘बिहे पास’को भन्दै ३ गुणाले कम शो हो ।
यस्तै, फिल्मलाई बीग मुभिजले २ शो, वान सिनेमाज्ले एक शो मात्र दिएका छन् । लक्ष्मण सुनारको निर्देशनमा विराज विष्टको लगानी रहेको फिल्ममा सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।
फिल्मका निर्माता तथा कलाकार विराज विष्टले सामाजिक संजालमार्फत स्टार पावर, ब्रान्डको राजनीतिमा आफ्नो फिल्म ‘बुलाकी’ परेको उल्लेख गरेका छन् । यो फिल्म ‘जारी र बिहे पास’को भीडमा च्यापिएको छ ।
प्रतिक्रिया