शोज कम पाउने भएपछि पोष्टपोन्ड भयो ‘नाई नभन्नु ल ६’


वैशाखको १ गतेबाट ४ फिल्म रिलिज हुने पक्का थियो । सबै फिल्मका मेकरले जोडतोडले  प्रचार पनि गरिरहेका थिए । तर, रिलिजको २ दिन अगाडि आएर निर्देशक विकासराज आचार्यले आफ्नो फिल्म ‘नाई नभन्नु ल ६’ पोस्टपोन्ड गर्ने बताए । फिल्मका वितकरसँग सल्लाह गरेर मिति पोस्टपोन्ड गर्ने जानकारी गराइयो । वितरकले पनि देश भरका हललाई फिल्म वैशाख १ गते  रिलिज हुन नसक्ने जानकारी गराउँदै इमेल गरे । 

फिल्मको निर्माण टिमले चलचित्र विकास बोर्डले सेन्सरका लागि अनुमति नदिएको भन्दै फिल्म सार्नु परेको जानकारी गरायो । यो जानकारी केही मिडियामा सार्वजनिक हुने बित्तिकै चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै सेन्सर पासका लागि अनुमति दिइसकेको उल्लेख गर्यो ।

उसो भए, फिल्मको प्रदर्शन मिति किन पोस्टपोन्ड गरियो त ? यो फिल्मको प्रचारका लागि यसका मुख्य २ कलाकार आँचल शर्मा र आर्शिवाद क्षेत्रीले कुनै कसर बाँकी राखेका थिएनन् । अझ, यो फिल्मको प्रचार अरू फिल्मको भन्दा बढी थियो । 

यो मितिमा रिलिज हुन लागेका ३ फिल्मको शोज बाँड फाँडलाई हेर्ने हो भने ‘जारी’को ६० प्रतिशत छ । अधिकांश मल्टिप्लेक्सले दयाहाङ राई र मिरुना मगरको ‘जारी’ माथि ठूलो विश्वास गरेका छन् । वितरक रोहित कट्टेलको फिल्म भएका कारणले पनि ‘बिहे पास’को शोज पनि राम्रो छ । तर, यो भिडमा कही कतै फिल्म ‘बुलाकी’ च्यापिएको देखिन्छ । 

यदि, यही मितिमा ‘नाई नभन्नु ल ६’ आएको भए शोज कम पाउने पक्का थियो । यस्तो अवस्थामा, फिल्म च्यापिने देखेरै यसको निर्माण टिमले फिल्म पोस्टपोन्ड गर्ने बुद्धिमानी कदम चालेको हो । 

मल्टिप्लेक्सका संचालकहरुले ‘जारी’को अगाडि ‘नाई नभन्नु ल ६’को ब्रान्ड र यसका कलाकारमाथि कम भरोसा गरेको देखिएको छ । यसैले, नयाँ मितिमा फिल्म रिलिज गर्ने निर्णय गर्दै यसको मेकर पछि हटेको हो ।