‘जारी, बुलाकी र बिहे पास’को बुकिङ खुल्यो, सेन्सर नहुँदा ‘नाई नभन्नु ल ६’ अड्कियो


वैशाखको १ गतेबाट रिलिज हुन लागेका ४ फिल्ममध्ये ३ फिल्मको बूकिङ केही मल्टिप्लेक्सले खुलाएका छन् । काठमाडौंको बीग मुभिजले ‘जारी, बुलाकी र बिहे पास’को बूकिङ खुलाएको छ । तर, फिल्म ‘नाई नभन्नु ल ६’को सेन्सर नभएकाले यसको बूकिङ भने खुलेको छैन । 

मल्टिप्लेक्सका संचालकलाई फिल्म ‘जारी’माथि बढी भरोसा देखिएको छ । किनकी, यो फिल्मलाई बीग मुभिजले ७ शोज दिएको छ । बीगको सबैभन्दा ठूलो ३ नम्बरको हलमा ६ शो ‘जारी’लाई मात्र दिइएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मको क्रेज बढी भएकाले पनि प्रदर्शकले यो फिल्ममाथि बढी भरोसा गरेको देखिन्छ । 

फिल्म ‘बिहे पास’का लागि बीग मुभिजले ३ शोज दिएको छ । नायक दयाहाङ राईमाथि प्रदर्शकलाई बढी भरोसा भएको देखिन्छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्ममा दया र प्रकृति श्रेष्ठको मुख्य भूमिका छ । 

फिल्म ‘बुलाकी’लाई २ शोज दिइएको छ । बिहान र मध्यान्हको गरि २ शोज दिइएकाले पनि ‘जारी र बिहे पास’को तुलनामा बीग मुभिजले ‘बुलाकी’लाई कम महत्व दिएको देखिन्छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका छ । 

अब, फिल्म ‘नाई नभन्नु ल ६’ले ३ शो पाउने संभावना बढी छ । एकैसाथ ४ फिल्म रिलिज हुने भएकाले पनि प्रदर्शकलाई शो मिलाउन धौ धौ परेको छ ।