‘पशुपति प्रसाद २ः भष्मे डन’मा आँचल शर्माको इन्ट्री


चैत्रको १० गतेबाट छायांकन भैरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा अर्की एक नायिकाको प्रवेश भएको छ । फिल्मको एक गीत र केही दृश्यमा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । 

यो फिल्मको छायांकन सेटमा आँचलले नृत्य गर्दै गरेको तस्वीर मेरो फिल्मलाई प्राप्त भएको छ । योसँगै फिल्ममो उनको विशेष भूमिका रहेको पुष्टी भएको छ । 

निर्देशक दीपेन्द्र के खनालले फिल्ममा आँचलको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए । उनले, आँचल एउटा विशेष गीतमा र केही दृश्यमा देखिने जानकारी दिए । तर, उनले गीत कस्तो खालको हो भन्ने बताएनन् । 

फिल्ममा नायक विपिन कार्की, नायिका स्वस्तिमा खड्का, नायक सौगात मल्ल मुख्य भूमिकामा छन् । फिल्ममा कलाकार खगेन्द्र लामिछाने र नायिका वर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । 

निर्देशक खनालका अनुसार, फिल्मको छायांकन अवधी लम्बिने पक्का भएको छ । ३५ दिनमा फिल्मको छायांकन सक्ने योजना भएपनि अब करिब ५० दिन भन्दा बढी लाग्न सक्ने दीपेन्द्रले बताए । आउँदो बर्षको कार्तिक ४ गतेबाट रिलिज हुने फिल्ममाथि दर्शकको उत्साह खुबै बढेको छ ।

जसको कारण पनि निर्माणपक्ष फिल्मलाई उत्कृष्ट बनाउनुपर्ने दबाबमा छ । यहीकारण, फिल्मको छायांकन लम्बाएर हरेक सिनमा मिहिनेत गरिएको निर्माणपक्षले बताएको छ ।