‘नाई नभन्नु ल ६’ पहिला त्यस्तो, अहिले यस्तो
निर्देशक विकासराज आचार्यलाई फिल्म ‘नाई नभन्नु ल ६’को काम सक्न हैरान भएको छ । फिल्म रिलिजका लागि ४ दिन मात्र समय बाँकी रहेको समयमा विकास भने दिनरात नभनी काम गरिरहेका छन् ।
यो फिल्मको गीत र ट्रेलर सार्वजनिक भएपछि मिश्रित प्रतिक्रिया आयो । फिल्मको कलरलाई लिएर चर्को आलोचना पनि भएको थियो । गीतमा कलर नै नमिलाएको भन्दै विकास र उनको टिमको चर्को आलोचना भयो । यसैले, पनि दर्शक र मिडियाबाट प्राप्त भएका आलोचनालाई सुधार गर्दै विकासले यसको कलरमा फेरि काम गरेका छन् । अब, युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्रीमा देखिएको भन्दा विल्कुलै फरक कलर फिल्ममा देख्न सकिनेछ । फिल्मको कलर रेनिस फागोले गरिरहेका छन् ।
मेरो फिल्मसँग कुरा गर्दै विकासले भने–‘अहिले काम भ्याउन दबाब छ । मंगलबार फिल्मको सेन्सर गर्ने योजना छ । यसैले, हामीले दिनरात नभनी काम गरिरहेका छौ ।’
फिल्म ‘नाई नभन्नु ल ६’का कलाकारले फिल्मको प्रचारमा भने कुनै कसर बाँकी राखेका छैनन् । यसका मुख्य नायक आर्शिवाद क्षेत्री र नायिका आँचल शर्मा फिल्मको प्रचारमा दौडिरहेका छन् । फिल्मको निर्माण टिम भने फिल्म नै नसकिने हो कि भन्ने तनावमा काम गरिरहेको छ ।
वैशाख १ गते अन्य ३ वटा फिल्म पनि रिलिज हुने भएकाले विकास र उनको टिमलाई उत्कृष्ट फिल्म बनाउनुपर्ने दबाब छ ।
प्रतिक्रिया