स्टारहरुको अनुहार नबिकेको बर्ष २०७९


यो बर्ष रिलिज भएका ४६ वटा फिल्ममध्ये आधा दर्जन भन्दा बढी फिल्मले लगानी उठाए । केही फिल्मले त निर्माताको गोजीमा मनग्गे पैसा पनि भरिदिए । 

तर, यो बर्ष फिल्ममा महंगो रकम लिएर अभिनय गर्ने स्टारहरुको फिल्मले भने पानी पनि भनेन । अझ, भनौ स्टारहरुको फिल्मले यो बर्ष निर्मातालाई नाफा दिएन । 

यो बर्ष स्टार नायक अनमोल केसीको फिल्मको व्यापार सबैभन्दा कमजोर रह्यो । ५० लाख पारिश्रमिक लिदै आएका अनमोलको यो बर्ष ‘ए मेरो हजुर ४ र छड्के २’ रिलिज भए । दुबै सिरिज फिल्म भएपनि यी दुबै फिल्मको व्यापार चित्त वुझ्ने खालेको छैन । 

‘ए मेरो हजुर ४’ले जसोतसो निर्माताको लगानी बचाएको बताइन्छ । तर, ‘छड्के २’को दयनीय व्यापारले अनमोलको स्टारडममाथि नै प्रश्न उठ्यो । किनकी, फिल्मले शुक्रबार बिहान पनि दर्शकको साथ पाउन सकेन । वितरक सुनिल मानन्धरले फिल्मले ३० लाख ग्रस कलेक्शन गरेको र आफ्नो हातमा १० लाख रुपैयाँ मात्र आएको बताएका थिए । यसबाट पनि स्टार नायक केसीको यो बर्ष कति कमजोर बन्यो भन्ने प्रष्ट हुन्छ । नायक प्रदीप खड्काको हकमा पनि यो बर्ष सुखद रहेन ।

प्रदीपको फिल्म ‘प्रकाश’ बक्स अफिसमा फ्लप भयो । फिल्म ‘प्रेमगीत ३’ ब्रान्डका कारण चल्यो, तर समीक्षागत रुपमा असफल भयो । दर्शक र समीक्षकले यसलाई कमजोर बताए । प्रदीपले फिल्म ‘प्रकाश’बाट समीक्षागत रुपमा प्रशंसा पाए । तर, यो बर्ष प्रदीपको स्टारडम अनुसार बक्स अफिस देखिएन । बरु, उनी विवादित अभिव्यक्ति दिएर झनै विवादमा परे । 

नायक पुष्प खड्काका लागि यो बर्ष विर्सनलायक नै बन्यो । उनी अभिनित ३ फिल्म ‘कृष्णलीला, तिम्रो मेरो साथ र मनसँग मन’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । विशेषगरि, ‘कृष्णलीला र तिम्रो मेरो साथ’बाट अपेक्षा बढी गरिएपनि फिल्मको व्यापार उल्लेख गर्न लायक पनि छैन । यसैले, यो बर्ष स्टार नायक पुष्प खड्काका लागि सबैभन्दा खराब रहन पुग्यो । 

नायक धिरज मगरले पनि कुनै कमाल गरेनन् । फिल्म ‘बाबरी’ले बक्स अफिसमा त्यस्तो कमाल गरेन । धिरजको स्टार क्रेज यसपटक सेलायो । उनको अनुहार हेरेर फिल्म हेर्न आउने दर्शकको संख्या घटेको पाइएको छ । यसैले, यो बिषयमा धिरजले गम्भिर रुपमा समीक्षा गर्न आवश्यक छ । 

यो बर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि पनि खराब रहन पुग्यो । ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’बाट साम्राज्ञीको स्टारडम कमजोर भैसकेको पुष्टी भयो । दुबै फिल्मको व्यापारले न त निर्माता खुशी भए, न फिल्म हेरेर दर्शक खुशी भए । साम्राज्ञीका  लागि आउँदा बर्षहरु अझै चुनौतीपूर्ण हुने देखिन्छ । 

नायिका पूजा शर्माका लागि पनि यो बर्ष विर्सनलायक नै बन्यो । उनी अभिनित २ फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा चलेनन् । पूजाका दुबै फिल्ममाथि दर्शकको आशा निराशामा बदलिदा उनले पनि आफूलाई गम्भिर समीक्षा गर्दै अगाडि बढाउनुपर्ने देखिन्छ । 

नायिका स्वस्तिमा खड्काको अभिनयको खुबै चर्चा भएको फिल्म ‘चिसो मान्छे’ पनि बक्स अफिसमा चिसो भयो । स्वस्तिमाको लगातार फ्लप फिल्मको श्रृङ्खला रोकिएन । यसैले, स्वस्तिमा ब्रान्ड बजार र फिल्मीकर्मीमाझ जति लोकप्रिय भएपनि दर्शकको नजरमा भने खासै नचलेकी नायिकाको रुपमा देखिएकी छिन् । 

अदिती वुढाथोकीले ‘बाबरी’बाट कमब्याक गर्न खोजेको प्रयास असफल भयो । नायिका प्रियंका कार्कीलाई पनि दर्शकले खासै रुचाएनन् । वर्षा सिवाकोटीका लागि पनि यो बर्ष सुखद बन्न सकेन । ‘के घर के डेरा’बाट नायिका वर्षा राउतलाई केही राहत भएपनि ‘लाखे’ले उनलाई खुशी दिएन । 

यसरीहेर्दा, यो बर्ष स्टार र महंगा भनिएका कलाकारको अवस्था निकै नै कमजोर बनेको छ । आगामी बर्षमा उनीहरुले फिल्म छान्ने कुरामा पैसामा बढी ध्यान दिए भने त्यसले उनीहरुलाई झनै घाटा हुने निश्चित छ ।