‘ए मेरो हजुरदेखि बहाव’सम्मः ०७९ मा ४६ फिल्म रिलिज, ‘कबड्डी ४’ शिर्ष स्थानमा


वैशाख १ गते रिलिज भएको ‘ए मेरो हजुर ४’देखि चैत्र २४ गते अर्थात् आजबाट रिलिज भएको फिल्म ‘बहाव’ सम्म आइपुग्दा, यो बर्ष ४६ वटा नेपाली फिल्म रिलिज भएका छन् । 

बर्षको पहिलो दिन सुखद सुरुवात गरेको नेपाली फिल्मले यसको अन्त्य भने औसत रुपमा गरेको छ । तर, यो बीचमा नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक व्यापारिक रेकर्ड समेत भएका छन् । यो बर्ष फिल्मको व्यापारिक दर समेत बढेको छ । 

तर, यसो भन्दै गर्दा यो बर्ष नेपाली फिल्मका लागि उत्तम हो भन्न मिल्दैन । नचलेका फिल्मले निर्माताको गोजीमा एक रूपैयाँ पनि फिर्ता गर्न नसक्दाको पीडा बिर्सन हुँदैन । यो बर्ष प्रतीक्षा गरिएका ‘तिम्रो मेरो साथ, डिसेम्बर फल्स, छड्के २’ जस्ता फिल्मको दयनीय व्यापारले लगानी गर्नेहरूले सय पटक सोच्नुपर्ने अवस्था भने आएको छ । 

यो बर्षको पहिलो दिनमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’को व्यापारलाई सुखद मान्न सकिन्छ । साउथको सबैभन्दा हाइप भएको फिल्म ‘केजीएफ २’सँग प्रतिस्पर्धा गरेका कारण पनि यो फिल्मले अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेन । तर, स्टारभ्यालु र ब्रान्डका कारण फिल्मले विदेशी फिल्मसँग घुँडा भने टेकेन । 

यो बर्ष फिल्म ‘कबड्डी ४’ले फिल्म क्षेत्रमा नयाँ इतिहास लेख्यो । ‘कबड्डी ४’ले २२ करोड माथिको ग्रस कलेक्शन गर्दा बिदेशी बजारमा पनि आक्रामक कमाई गर्यो । यो बर्ष विदेशमा पनि नेपाली फिल्मको बजार अझै विस्तार गर्नमा रामबाबु गुरुङ निर्देशित फिल्मको भूमिकालाई महत्वपूर्ण मान्न सकिन्छ । 

‘कबड्डी ४’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने फिल्म हो । ‘छक्का पन्जा ३’को १८ करोडको ग्रस कलेक्शनलाई यसले ठूलो मार्जिनले पछि पारेको छ । 

यस्तै, यो बर्ष फिल्म ‘झिङ्गे दाउ’को व्यापारले पनि सबैलाई चकित बनाइदियो । सुदर्शन थापाको निर्देशनमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन जस्ता कलाकारको अभिनय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई धेरै पछि पार्दै यो फिल्म अगाडि गयो । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको कथावस्तु, प्रस्तुतिलाई दर्शकले मन पराए । 

फिल्म ‘प्रेमगीत ३’ले भारतीय बजारमा आफ्नो उपस्थिति जनायो । निर्माता तथा निर्देशक सन्तोष सेनले लामो मिहिनेतपछि हिन्दी भाषामा फिल्म डब गरेर भारतीय हलमा नेपाली फिल्मलाई पुर्याए । भलै, फिल्मले भारतीय बजारमा कुनै सुखद कमाई गरेन । तर, सन्तोष सेन र उनको टिमले नयाँ संभावनाको ढोका भने खोलिदिएको छ । नेपालमा पनि यो फिल्मले कमजोर समीक्षाका बाबजुत राम्रो कमाई गर्यो । 
दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले पनि यो बर्ष सरप्राइज व्यापार गर्यो । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई दर्शकले मन पराए । जसकाकारण, फिल्मबाट निर्माताले राम्रो मुनाफा कमाए । 

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को व्यापार पनि सुखद रह्यो । फिल्मले नेपाली बजारबाट लगानी सुरक्षित गर्न सक्यो । 

यो बर्ष फिल्म ‘महापुरुष’ले सर्वाधिक व्यापारको तेश्रो रेकर्ड राख्यो । यो बर्ष चलेका फिल्ममध्ये प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ तेश्रो धेरै कमाउने फिल्म हो । 

फिल्म ‘फूलबारी’ले नेपाली बजारबाट लगानी उठाउन नसकेपनि यसको व्यापार औषत हो । रामबाबु गुरुङ निर्देशित फिल्म केही हलमा लामो समयसम्म चल्यो । फिल्मको समीक्षा सुखद आएको थियो । फिल्मको व्यापारबाट निराश हुने अवस्था भने छैन । 

यो बर्षको सर्वाधिक धेरै कमाई गर्ने दोश्रो फिल्म ‘छक्का पन्जा ४’ हो । हेमराज वीसीको निर्देशनमा तयार भएको फिल्मको व्यापार १० करोड भन्दा माथि पुगिसकेको छ । फिल्मले ‘कबड्डी ४’को रेकर्ड तोड्ने संभावना कम भएपनि व्यापारमा भने सबैलाई खुशी बनायो । 

यसरी, यो बर्ष अल टाइम ब्लकबस्टर, ब्लकबस्टर, सुपरहिटदेखि हिट फिल्मको सूची देखिएको छ । यो नेपाली फिल्मका लागि सुखद मान्नुपर्छ । 

अर्को बर्ष पनि संभावना बोकेका र दर्शकले पत्याएका मेकरदेखि कलाकारका केही फिल्म रिलिज हुँदैछन् । यसले, आउँदो बर्ष पनि नेपाली फिल्मका लागि सुखद बन्ने आँकलन गर्न सकिन्छ ।