‘नाई नभन्नु ल ६’का आर्शिवाद, जसले पेन किलर खाएर एक्सन गरे
नेपाली फिल्म क्षेत्रले बेलाबखत संभावना बोकेका कलाकारहरू जन्माउँछ । बर्सेनि दर्जन भन्दा बढी कलाकारले फिल्म क्षेत्रमा संभावना खोज्दै डेब्यू गरेपनि, सबैको भाग्य भने चम्कदैन ।
तर, केहीले भने फिल्म रिलिज अगाडि नै चर्चा पाउँछन् । वैशाखको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाई नभन्नु ल ६’का नव–नायक आर्शिवाद क्षेत्री फिल्म रिलिज अगाडि नै चर्चामा छन् । फिल्मको गीतसंगीत र ट्रेलर सार्वजनिक भइसक्दा आदर्शवादमाथि फिल्म क्षेत्रको आशा पनि बढेको छ ।
मेरो फिल्मसँगको कुराकानीमा आर्शिवादले वैशाख १ गते आफ्नो भविष्य जोडिएको बताए । ‘नाई नभन्नु ल ६’ भन्दा अगाडि पनि आफूलाई केही फिल्मको अफर आएको बताउँदै उनले यो फिल्म रिलिज भएपछि मात्र आफू अगाडि बढ्ने सुनाए ।
आर्शिवादले यो फिल्मका लागि खुबै मिहिनेत गरेका छन् । झापामा फिल्मको एक्सन दृश्यको छायांकन गर्दै गर्दा आर्शिवादको खुट्टाको लिगामेन्ट नै च्यातियो । तर, उनले यो कुरा निर्माण पक्षलाई भनेनन् । बरु, उनले केही दिन पेन किलर नै खाएर काम गरे । आर्शिवाद भन्छन्–‘म मेरो कारणले फिल्मको छायांकन रोकियोस् भन्ने चाहन्नथे । यसैले, पेन किलर खाएर काम गरे । तर, पछि डाक्टरले २ महिना पूर्ण आराम गर्न सुझाव दिनुभयो । निर्देशक विकासराज आचार्यले पनि आराम गर्न सुझाव दिएपछि मात्र म तयार भएँ ।’
आर्शिवादका अनुसार, केही दिन अगाडि पशुपतिनाथ परिसरमा फिल्मको छायांकन हुँदा उनको दुखाई बल्झिएको थियो । तर, उनले काम रोकेनन् । २ दिन कडा मिहिनेतका साथ एक्सनको दृश्य सकेका थिए ।
आर्शिवाद दर्शकले आफूलाई एउटा पूर्ण कलाकारको रुपमा चिनून् भन्ने चाहन्छन् । फिल्म क्षेत्रमा आफू हरेक शैलीका फिल्मका लागि पर्फेक्ट बन्ने सोचका साथ आएको आर्शिवाद सुनाउँछन् ।
आर्शिवादले फिल्म क्षेत्रलाई राम्रोसँग वुझेका पनि छन् । पोखरा घर भएपनि ललितपुरको जावलाखेलमा हुर्किएका आर्शिवाद नेपाली फिल्मसँग नजिक छन् । फिल्ममा काम नगर्दा पनि उनी सुटिङ लुकी लुकी हेर्न जान्थे । यसबाट आफूले फिल्ममा कसरी काम हुन्छ भन्ने वुझेको उनले सुनाए ।
वैशाख १ गते रिलिज हुने लभ स्टोरी तथा पारिवारिक फिल्म चलेको खण्डमा आर्शिवादलाई सबैभन्दा बढी फाइदा हुनेछ । किनकी, फिल्म क्षेत्रका ठूला ठूला ब्यानर उनीमाथि आखा लगाएर बसेका छन् । यो फिल्म उनका लागि भविष्य निर्धारण गर्ने मुख्य हतियार हो । आर्शिवाद यसमा सफल होउन्, हाम्रो शुभकामना ।
प्रतिक्रिया