‘प्रसाद २’को रिलिज रोकिदा आर्थिक र मानसिक क्षती


एउटा फिल्म रोकिनुको पछाडि, कुनै एउटा कलाकार वा निर्मातालाई मात्र क्षति हुँदैन । एउटा फिल्मको रिलिज रोकिँदा त्यसको असर विश्व भर पर्छ । 

आजबाट रिलिज हुने भनिएको फिल्म ‘प्रसाद २’ अदालतको आदेशपछि रिलिज हुन सकेन । आइतबार अदालतले दुवै पक्षसँग छलफल गर्ने आदेश दिएको छ । यसैले, उच्च प्रचारका साथ रिलिजका लागि ठिक्क भएको एउटा फिल्म रोकिँदा निर्माताको आर्थिक र मानसिक क्षति, निर्देशकको बौद्धिक क्षति र प्राविधिकहरूको श्रमको क्षतिको आकलन गर्न सकिँदैन । 

फिल्म आज रिलिज हुन नसकेपछि निर्देशक सुदर्शन थापाले लेखेका छन्–‘फिल्म प्रसाद २ विविध कारणले रिलिज हुन नसक्दा नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक क्षति तथा मेरो टिमका कलाकार, प्राविधिक र सर्जकहरुमा पर्न गएको सिर्जनात्मक क्षतिप्रति अन्तर्मनदेखिकै दुःख व्यक्त गर्न चाहन्छु ।’

यो फिल्मलाई अमेरिकामा रिलिजका लागि जिम्मा लिएका निर्देशक सुरेश दर्पण पोख्रेलले सामाजिक संजालमा स्टाटस लेख्दै ठूलो क्षति भएको उल्लेख गरेका छन् । अमेरिका भरका शहरमा फिल्म रिलिजका लागि हल बुक गरिएको थियो । दर्शकले टिकट काटेका थिए । 

हल बुक गरेर एडभान्स रकम तिरेको अवस्थामा अमेरिकामा रहेका वितरकलाई ठूलो क्षति भएको छ । अब, अर्को मितिमा फिल्म रिलिज हुँदा दर्शकले यसलाई कुन रुपमा लिने हुन् भन्न सकिने अवस्था छैन । 

निर्माता सुवास थापा लामो समयदेखि मानसिक रुपमा तनाव लिएर दौडिरहेका छन् । निर्देशक सुदर्शन थापा, यसका मुख्य कलाकारहरू विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको बौद्धिक क्षतिलाई कम आकलन गर्न सकिँदैन । 

यो विषयलाई फिल्म क्षेत्रकै संघसंस्थाले मिलाउनुपर्ने थियो । तर, चलचित्र विकास बोर्डले समेत यो विषयलाई समाधान गर्न सकेन । प्रदर्शनका लागि ठिक्क भएको फिल्म रिलिज हुन नसक्दा हलमा हुने व्यापार समेत हुन पाउँदैन । जसबाट वितरक, प्रदर्शकलाई पनि क्षति हुने गर्दछ । यसैले, फिल्मको विषयमा हुने समस्यालाई फिल्म क्षेत्र भित्र नै हल गर्नुपर्ने सन्देश प्रसाद २ ले दिएको छ ।