भुवन केसीको निर्णयमाथि किन उठ्छ बारम्बार प्रश्न ?
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका नायक भुवन केसी बोर्ड अध्यक्ष भन्दा पनि सेलिब्रिटी जस्तो व्यवहार गरिरहेका छन् । बुधबार आयोजना भएको चलचित्र निर्माता संघको कार्यक्रममा पनि उनी संचारमन्त्री भन्दा करिब एक घन्टा ढिलो पुगे । भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि खासै उल्लेखनीय काम गर्न सकेका छैनन् । उनले, बोर्ड अध्यक्ष हुनु भन्दा अगाडि जति गफ गर्थे, त्यसको एक प्रतिशत पनि काम गर्न सकेका छैनन् । संभवत, उनको कार्यकाल यस्तै गफै गफमा वित्ने देखिन्छ ।
उनै, केसीले गरेका निर्णयमाथि पनि बारम्बार प्रश्न उठ्ने गरेको छ । उनले गरेका निर्णयलाई कहिले संचार मन्त्रालयले त कहिले अदालतले प्रश्न उठाउने गरेको छ । फिल्म ‘प्रसाद २’लाई सेन्सरमा नरोक्ने निर्णय गरेको भोलीपल्टै चलचित्र विकास बोर्डलाई अदालतले कारण देखाउ आदेश जारी गर्यो । यो मुद्दा अदालतसम्म जानुपर्ने नै थिएन ।
तर, चलचित्र विकास बोर्ड र अन्य फिल्म सम्बन्धी संघसंस्थाले नेतृत्व लिन नसक्दा मुद्दा अदालती प्रक्रियामा गयो । भोलीबाट रिलिज हुनुपर्ने फिल्म अदालतको आदेशपछि रोकिएको छ । भुवन केसी आफ्नो निर्णयमा यसपटक पनि चुकेका छन् ।
फिल्म ‘प्रेमगीत ३’लाई विदेशी भाषाको बनेर सर्टिफिकेट दिएको भोलीपल्टै उनलाई संचारमन्त्रालयले प्रश्न सोध्यो । ‘प्रेमगीत ३’को हिन्दी भाषाको डबलाई नेपाली फिल्म सरह रिलिजका लागि अनुमति दिन भुवनलाई मन्त्रालयले निर्देशन दियो । आफूले गरेको निर्णयबाट केसी २ दिनमै पछि हट्नुपर्यो ।
यतिमात्र होइन, भुवन केसीले फिल्म सेन्सरका लागि १ हप्ता अगाडि नै कागजपत्र वुझाउनुपर्ने नियम बनाए । तर, चलचित्र संघको व्यापक विरोधपछि उनी यसबाट पछि हटे ।
यसरी, बारम्बार आफ्नो निर्णयबाट पछि हट्दै आएका भुवन केसीले दुबइमा गरेको ‘सिनेमा महोत्सव’ पनि विवादित बन्यो । उनको यो आयोजनामाथि नै प्रश्न उठ्यो । कच्चा निर्णय र व्यक्तिगत फाइदाका लागि बारम्बार निर्णय गर्दा भुवन केसी विवादित र आलोचित बन्दै आइरहेका छन् ।
विकास बोर्डकै केही कर्मचारीहरु केसीले फिल्म क्षेत्रमा केही गर्छन् कि भन्ने आशा लागेपनि त्यो केही महिनामै निराशामा बदलिएको बताउँछन् । फिल्मीकर्मीहरु तथा प्रदर्शकहरु पनि भुवन केसीबाट आशा भएपनि अब उनले काम गर्न सक्देनन् भन्ने पुष्टी भैसकेको तर्क गर्छन् ।
यसरी, बारम्बार आफ्नै निर्णयबाट पछि हट्न बाध्य भुवन केसीले अझै डेढ बर्ष विकास बोर्डमा अध्यक्षको रुपमा बिताउनुपर्नेछ । तर, के उनले आफ्ना गल्ती सच्याएर बोल्ड निर्णय गर्लान् त । आशा गर्न सकिन्छ, भर पर्न सकिदैन ।
प्रतिक्रिया