‘वार २’मा ऋतिकसँगै जुनियर एनटीआरको इन्ट्री


फिल्म ‘ब्रम्हास्त्र’का निर्देशक आयन मुखर्जीले यसको दोस्रो र तेस्रो सिरिजलाई पछि धकेल्दै नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । यश राज ब्यानरको निर्माणमा तयार हुन लागेको फिल्म ‘वार २’लाई आयनले निर्देशन गर्ने भएका हुन् । 

फिल्म ‘वार २’ यश राज फिल्मसको स्पाई यूनिभर्स अन्तर्गत निर्माण हुँदैछ । ‘वार’ फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए । जसले बक्स अफिसमा बम्पर व्यापार गरेको थियो । 

यो फिल्ममा नायक ऋतिक रोशन मुख्य भूमिकामा छन् । अब, निर्माणपक्षले फिल्ममा अर्का सुपरस्टारको समेत इन्ट्री गराएको छ । साउथका सुपरस्टार जुनियर एनटीआरको फिल्ममा प्रवेश भएको हो । फिल्ममा अब ऋतिक र जुनियर एनटीआरको वार हेर्न पाइनेछ । पहिलो सिरिजमा ऋतिक सँग टाइगर श्राफ थिए । 

यश राज ब्यानरले फिल्म ‘वार २, टाइगर ३ र पठान भर्सेज टाइगर’को एकैसाथ घोषणा गरेको हो ।