हर घरको कथा हो 'बहाव'

यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यति बेला रिलिजको सँघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल बीचको वैचारिक अन्तर द्वन्द्वलाई प्रस्तुत गरेको छ ।

फिल्मलाई समाजको कथा भनिए पनि निर्देशक कँडेल, अभिनेत्री पन्त र अभिनेता नेपालसँग केही हदमा कथाको अंश मिल्दोजुल्दो रहेको स्वयंले खुलासा गरेका छन् । राजधानीमा मंगलबार पत्रकारमाझ उनीहरूले यो कुराको खुलासा गरेका हुन् ।

सुरक्षाले ‘बहाव’मा वैचारिक मनोरञ्जन भए यसको कथा केही हिसाबले आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् । ‘यो फिल्मको हिरो हिरोइन भनेकै बाबु छोरी अर्थात् कमलमणि दाई र म हौं । यसका केही कथाहरू मसँग पनि सम्बन्धित छ । किनकी हाम्रो घरमा दुई आमा र एक बुवा हुनुहुन्छ । उहाँहरूका धेरै सन्तान छोरी नै छन्’, सुरक्षाले भनिन्, ‘फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ ।’

अभिनेता कमलमणिले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको खुलाए । उनले फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लागे पनि स्क्रिप्ट गहिरिएर पढ्दा फिल्ममा सुरक्षाको मनोभावलाई बुझेको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्त्‍व लिने हो । सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सार तत्व लिएको थिएँ । सन्ध्या र म बीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिँन र रोएँ’, कमलमणिले खुलाए, ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई रोक्न सकिँन । दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’

निर्देशक कँडेलले फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू रहेको बताए । ‘यो कथा लेखिरहँदा भाइको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगेँ, ती कुरा दर्शकले भाइको चरित्रमा पाउनुहुन्छ’, उनले भने ।

निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको दाबी गरे । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शक माझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनु पर्ने अवस्था छैन’, उनले भने ।

उनले नेपाली फिल्ममा केही नयाँ प्रयोग गर्न आफूले एआई थिममा पोस्टर बनाएको बताए । उनले फिल्मको मार्केटिङमा नीतिमा ३ देखि ४ वटामात्र पोस्टर बनाउने र त्यो पोस्टर सन्ध्या चरित्रलाई नै लक्षित गर्ने भन्ने योजना अनुरूप एआई पोस्टर बनाएको खुलाए । ‘नेपालमा यस्तो किसिमको पोस्टर बनेको मैले सुनेको छैन । सोही कारण नेपालमा पनि व्यावसायिक रुपमा काम गरौँ भनेर एआई थिममा पोस्टर बनायौँ’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ ।