नरेन खड्काः फिल्म क्षेत्रले चिन्न नसकेको एक अनुहार


वैशाखको १ गतेबाट रिलिज हुने फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएपछि नायिका सुरक्षा पन्तको मात्र होइन, नायक नरेन खड्काको कामको पनि प्रशंसा भइरहेको छ । नरेनले पश्चिमेली संस्कृति र भाषामा आफूलाई ढालेका छन् । 

उसो त, नरेन खड्काको यो पहिलो फिल्म भने होइन । उनले, यसअघि पनि केही फिल्ममा काम गरिसकेका छन् । उनले केही म्युजिक भिडियोमा पनि काम गरेका छन् । 

तर, खड्काले काम गरेका प्रोजेक्टहरूले दर्शकको साथ पाउन नसक्दा र कतिपय प्रोजेक्ट उनले गलत रोज्दा उनको कामको मुल्यांकन हुन नसकेको हो । 

नरेनले नायिका रेखा थापासँग फिल्म ‘हमेशा’मा पनि काम गरेका छन् । यसपछि उनी फिल्म क्षेत्रमा उदाउने अपेक्षा धेरैको थियो । तर, करिअरमा केही गतिला प्रोजेक्ट रोज्न नजान्दा उनले अपेक्षित सफलता पाएनन् । 

उनै, नरेन फिल्म ‘बुलाकी’बाट भने दर्शकले आफूलाई रुचाउनेमा विश्वस्त छन् । उनले भने–‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचक्राई गरे । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो फिल्मले जारी प्रथाको कथालाई उठान गरेको छ ।