फिल्मको पात्रमा जिउन पशुपतिमा २ महिना चक्कर लगाएका सौगात


चैत्रको १० गतेबाट पशुपतिनाथ परिसरमा छायांकन भैरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ चर्चामा छ । यो फिल्मबाट नायिका स्वस्तिमा खड्का र नायक विपिन कार्कीको गेटअप बाहिरिएको छ । तर, अर्का कलाकार सौगात मल्लको गेटअप भने निर्माणपक्षले सार्वजनिक गरेको छैन । उनको गेटअपलाई निर्माणपक्षले गोप्य राख्नु आफैमा अर्थपूर्ण छ । 

यो फिल्मका लागि सौगात मल्लले २ महिना पशुपतिनाथ परिसरको चक्कर लगाएका थिए । उनी, हरेक दिन पशुपतिनाथ परिसरमा पुग्थे र त्यहाँको माहोला वुझ्ने काम गर्थे । यस्तै, उनले पशुपतिनाथ दर्शन गर्न आउने, त्यहाँ बस्दै गरेका साधुहरुसँग समेत कुराकानी गरेका थिए । 

यसैले, पनि सौगात मल्लको भूमिका फिल्ममा फरक छ र दर्शकले उनीबाट केही सरप्राइज अभिनयको अपेक्षा राख्न सक्छन् भन्ने वुझ्न सकिन्छ । 

दीपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । 

सौगातलाई पशुपतिनाथ परिसरमा जान र त्यहाँको माहोल वुझ्न निर्माणपक्षले दबाब दिएको भने होइन । तर, उनी आफै आफ्नो पात्रलाई अझ सशक्त बनाउन दैनिकजसो पशुपति परिसर पुग्ने गरेका थिए । 

फिल्म साइन गरेपछि त्यो पात्रमा बाँच्ने थोरै मात्र कलाकारमा सौगात पनि पर्छन् ।