अनमोल–पूजाको फिल्म, कहाँ अड्कियो ?

नायक अनमोल केसीले केही महिना अगाडि १० लाख रुपैयाँ पेश्की रकम लिदै नायिका पूजा शर्माले बनाउन लागेको फिल्म साइन गरे । द्धारिका होटलमा फिल्म साइन गर्ने क्रममा फिल्मका निर्देशक सुदर्शन थापा, नायिका तथा निर्मात्री पूजा शर्मा, नायक अनमोल केसी, प्रोडक्शन डिजाइनर सुरज आचार्य र नायक भुवन केसी एकसाथ थिए । अनमोलले पनि आफूलाई निर्देशक थापा र नायिका शर्मासँग काम गर्न पहिलेदेखि नै मन लागेको र यसपटक सहकार्य गर्ने अवसर जुटेको बताएका थिए । 

सहमति पत्रमा अनमोलले फिल्म ‘छड्के २’को छायांकनपछि पूजाको फिल्म सुरु गर्ने लेखिएको थियो । तर, चैत्र महिनाको अन्तिममा आइपुग्दा पनि पूजा र अनमोलको सहकार्यमा बन्ने फिल्मको छायांकन सुरु हुन सकेको छैन । 

आखिर पूजा र अनमोलको फिल्म कहाँ अड्कियो त ? यो बिचमा सुदर्शन थापा र पूजा शर्माले अनमोल केसीसँग कुराकानी गर्ने धेरै प्रयास गरेको वुझिएको छ । तर, अनमोल भन्दा पनि उनका पिता भूवन केसी अगाडि सर्ने गरेका छन् । 

अनमोलले यो फिल्मका लागि आफने शरीर गज्जब बनाउनुपर्नेछ । यसका लागि करिब ६ महिनाको समय अनमोलले फिल्मलाई दिन आवश्यक छ । ६ महिना अनमोलले नै होमवर्क गरेपछि कथामा चाहेको जस्तो गेटअप निकाल्न सकिने सुदर्शनको वुझाई छ । तर, अनमोल यो बिषयमा गम्भिर देखिएका छैनन् । श्रोतका अनुसार, केही दिन अगाडि फाइनल कुरा गर्न जादा पनि सुदर्शन र पूजासँग अनमोलले भेटेका थिएनन् । बरु, उनका पितासँग १ घन्टा भन्दा लामो मिटिङ भयो, जहाँ अनमोल नआउँदा पूजा र सुदर्शन उनीसँग रुष्ट छन् । 

श्रोतका अनुसार, अनमोलले फाइनल निर्णय पनि नदिने, पेश्की रकम पनि फिर्ता नगर्ने कारणले गर्दा सुदर्शन र पूजा फिल्म अगाडि बढाउन नै दोधारमा परिरहेका छन् । वुझिएअनुसार, अनमोल केसी आफ्नै घरको फिल्म ‘माइतीघर २’को तयारी गरिरहेका छन् । एकातिर, अनमोलले फिल्म गर्दिन पनि नभन्ने र अर्कोतिर अन्य फिल्मको भित्र भित्र तयारी गरिरहेका कारण पनि पूजा र सुदर्शन तत्काल फिल्म बनाउन सकिने सोचमा नरहेको वुझिन्छ । 

यो फिल्मका लागि निर्मात्री शर्माले ३० लाख भन्दा बढी खर्च गरिसकेकी छिन् । फिल्मका लागि भारतबाट स्क्रिप्ट राइटर ल्याएर काम समेत गरिएको थियो । तर, पूजाको पैसा एकातिर अड्किएको छ भने अर्कोतिर काम सुरु हुन सकेको छैन ।

‘अब, अनमोल केसीले फिल्मका निर्मातालाई फाइनल निर्णय दिन आवश्यक छ । होइन भने, एकातिर निर्मात्रीको पैसा पनि अड्किने, अर्कोतिर अनमोलले तयारी पनि नगर्दा उनले निर्माणपक्षलाई दुःख दिन खोजेको देखिन्छ’, श्रोतले भन्यो ।