सुरक्षा भन्छिन्–‘म फिल्मकर्मीको बायकटमा परेँ’


नायिका सुरक्षा पन्तले फिल्म क्षेत्रमा आफूले सफ्ट विद्रोह गरिरहेको बताएकी छिन् । मिडियासँगको कुराकानीमा सुरक्षाले महिला केन्द्रित फिल्म बन्नुपर्छ भन्ने बिषयमा आफू सधै नै अडिग रहेको बताएकी छिन् ।

चैत्र २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’को प्रमोशनका क्रममा सुरक्षाले भनिन्–‘मलाई फिल्म क्षेत्रमा नै बायकट गरियो । मलाई दर्शक र मिडियाले माया गर्नुभएको छ । तर, कही कतै फिल्मीकर्मीबाट भने आफू किनारा लागेको महशुश भएको छ ।’

सुरक्षाले आफूलाई पनि रोमान्टिक फिल्ममा काम गर्न मन लागेको सुनाउँदै मेकरले आफूमाथि जोखिम मोल्न नचाहेको हो कि भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्–‘म चित्त नवुझेको कुरा बोलिहाल्छु । झट्ट यस्ता कुराहरु सबैलाई मन पर्र्दैन । यसैले, पनि मलाई लिन धेरै मेकरले नचाहनुभएको होला ।’

तर, सुरक्षाले पछिल्लो केही समयता भने धेरै मेकरले यो कुरा वुझेको बताइन् । उनले, आफूले पनि कही कतै आत्मसमर्पण गर्न थालेको सुनाइन् । भनिन्–‘उहाँहरु मलाई अफर गर्न आउनुहुन्न भने म आफै पनि जानुपर्ने रहेछ । यस्तो कुरा मलाई सुरुमा थाहा थिएन । तर, अहिले म आफै पनि आत्मसर्मपण गर्न थालेकी छु ।’

तर, सुरक्षाले राम्रो कुराले सधै नै नराम्रो कुरालाई पराजित गर्नेमा विश्वास राखेको बताइन् । फिल्म क्षेत्रमा आफूले चित्तवुझ्दो पारिश्रमिक नपाएको समेत उनको भनाई छ । पुरुषहरु हाबी भएका कारण पनि महिलाले राम्रो काम गरेर पनि उचित पारिश्रमिक नपाएको गुनासो सुरक्षाको छ ।