छायांकन सुरु नहुँदै ‘हात्तीछाप’को ओभरसिज राइट्स विक्री
किरण नेपालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को छायांकन वैशाखबाट सुरु हुँदैछ । निर्देशक सिमोस सुनुवारले यो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने गरि तयारी गरिरहेका छन् । यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । नायक दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकेपछि यो फिल्मको छायांकन सुरु गर्नेछन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
यसैबिच, यो फिल्मको कुनै पनि दृश्यको छायांकन नै नभइ यसको ओभरसिज राइट्स विक्री हुन थालेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरूको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेका हुन् ।
निर्माता किरण नेपालीले फिल्मको छायांकन नै सुरु नहुँदै विश्व भरबाट माग उच्च भएको बताएका छन् । यसैले, छायांकन अगाडि नै फिल्मको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको भनाई छ ।
प्रतिक्रिया