'बहाव' नेपाली फिल्ममा केही परिवर्तन ल्याउनकै लागि बनाइएको हो - दीपाश्री निरौला

आगामी चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् । 

शोपछि सञ्चारकर्मी तथा पत्रकारसँग कुरा गर्दै शोका होस्ट तथा निर्देशक विशाल भण्डारी र कलाकार दीपाश्री निरौलाले फिल्म ‘बहाव’ हेरिदिन आग्रह गरे । दुवैले फिल्मको ट्रेलरमा देखिएको सुरक्षाको विद्रोही स्वभावको खुलेर प्रशंसा गरे । 

‘ट्रेलरमा सुरक्षालाई एउटा विद्रोही केटीको भूमिकामा देखाइएको छ । उसले प्रत्येक फिल्ममा आफूलाई परिवर्तन ल्याइरहेको छ । यो उसका लागि प्लस प्वाइन्ट हो’, दीपाश्रीले भनिन्, ‘किनभने सुरक्षा जे हो, त्यो भन्दा फिल्ममा फरक देखिनु पनि आफैंमा सकारात्मक कुरा हो । 

उनले आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक रहेको दाबी गरिन् । ‘निर्माता श्रीधरजी नेपाली फिल्ममा फरक कथा दिन चाहनुहुन्छ । योभन्दा अघिका उहाँका फिल्मले पनि त्यो प्रमाणित गरिसकेको छ’, दीपाश्रीले भनिन्,‘मलाई लाग्छ बहाव पनि नेपाली फिल्ममा केही परिवर्तन ल्याउनकै लागि बनाइएको हो ।’ उनले फिल्मको ट्रेलरसँगै सुरक्षाको कामले पनि मोहित बनाएको बताइन् ।

शोका निर्देशक तथा होस्ट भण्डारीले निर्माता श्रीधरले पहिलेदेखि नै फरक कथामा फिल्म बनाउने प्रयास गरिरहँदा ‘गोपी’ पछि ‘बहाव’ अर्को प्रयास भएको बताए । ‘कति प्रयास सफल त कति असफल हुन्छन् । सबैभन्दा ठूलो कुरा यात्राको निरन्तरता हो । बहावदेखि श्रीधरले सफलताको खुड्किलो टेकोस् भन्ने शुभकामना दिन चाहन्छु’, विशालले भने, ‘ट्रेलर शक्तिशाली छ । प्रस्तुतीका हिसाबले पनि एकदमै राम्रो देखिएको छ ।’

उनले नेपालमा महिलालाई विद्रोही पात्रको रुपमा प्रस्तुत गरिएका फिल्महरु बिक्ने गरेको उदाहरण दिँदै यो क्रम वर्तमानदेखि भविष्यसम्म जारी रहने बताए । ‘फिल्ममा प्रस्तुतीकरण महत्वपूर्ण कुरा हो । यो फिल्ममा सुरक्षाले नै अभिनय गरिसकेपछि उनको अभिनयबारे धेरै बोलिरहन आवश्यक ठान्दिनँ । किनकी उसले हरेक फिल्ममा आफूलाई फरक सुरक्षाका रुपमा प्रस्तुत गरिरहेको छ’, उनले भने ।