लामिछानेको निर्देशनमा ‘चित्रा’ बन्ने

राम नवमीको अवसरमा फिल्म ‘चित्रा’ को घोषणा गरिएको छ ।  आगामी भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ ।

पारिवारिक कथामा निर्माण हुने फिल्मको छायांकन नेपालमा नै गरिनेछ । फिल्मले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए । निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो फिल्मको प्रदर्शन पश्चात् ‘चित्रा’ फ्लोरमा जाने तयारी भइरहेको छ ।

उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’लगायतका फिल्म निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन् ।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । फिल्ममा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक फिल्मको पनि निर्माण घोषणा गरेका थिए । त्यो फिल्म पनि चाँडै फ्लोरमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।