‘भोला’लाई मिश्रित प्रतिक्रिया, औषत ओपनिङ


बलिउड फिल्म ‘पठान’ले बक्स अफिसमा बम्पर कमाई गरेपछि बलिउडकर्मीको अनुहारमा खुशी फर्किएको छ । यो फिल्मपछि रिलिज हुन लागेका एक्सन फिल्मले बक्स अफिसमा तरंग ल्याउने धेरैको अनुमान पनि छ ।

बिहिबारदेखि रिलिज भएको फिल्म ‘भोला’माथि धेरैको नजर थियो । अजय देवगणको अभिनय र निर्देशनमा तयार भएको यो फिल्मको एक्सनलाई लिएर पनि धेरैको आखा परेको थियो । 

अजय देवगण र तब्बु जस्ता कलाकारको अभिनय रहेको फिल्मको टिजर र ट्रेलरले पनि दर्शकको मन जितेको थियो । अजयले फिल्मको प्रचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । 

तर, फिल्म रिलिज भएपछि यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । साउथ फिल्मको रिमेकको रुपमा तयार भएको यो फिल्मको एक्सन पाटो सशक्त भए पनि पटकथामा फिल्म चुकेको प्रतिक्रिया समीक्षकहरूको छ । 

यो फिल्मले बिहिबार भारतीय बक्स अफिसमा ११ करोडको ओपनिङ गरेको छ । यो ट्रेडहरुले अपेक्षा गरेको भन्दा कम हो । तर, ४ दिन लामो विकेन्डको फाइदा फिल्मले लिन सक्छ ।