‘बुलाकी’को ट्रेलर: कर्णालीको ग्रामीण जीवन, जारी प्रथा र सम्बन्धमा आउने उतारचढाव

२०८० सालको बैशाख १ गते (नयाँ वर्ष) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

तीन मिनेट १० सेकेन्ड लामो ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । पोष्टरबाटै चर्चा कमाएको फिल्ममा सुरक्षाको साथमा अभिनेताद्धय नरेन खड्का र बिराज बिष्टको शीर्ष भूमिका छ । 

सन्तान नहुनुमा महिलालाई नै दोषी देख्ने समाजको कथालाई प्रस्तुत गरेको फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइकाको समेत अभिनय  छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको छ । फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।