‘नाई नभन्नु ल ६’ ट्रेलरः आर्शिवाद र आँचलसँगै बालबालिकाको प्रेम कथा


निर्देशक विकासराज आचार्यले यसपटक पनि फिल्म ‘नाई नभन्नु ल ६’मा प्रेमकथाको ठूलो क्यानभास तयार पारेका छन् । वैशाखको १ गतेबाट रिलिज हुन लागेको यो फिल्मको ट्रेलर आज सार्वजनिक भएको छ, जहाँ बालबालिकादेखि युवापुस्ताको प्रेमकथा देखाइएको छ । 

फिल्मको कथा विकासले सामिप्यराज तिमल्सिना र अरुण देवी जोशीसँग मिलेर लेखेका हुन् । फिल्मको ट्रेलरमा नव–नायक आर्शिवाद क्षेत्री हाबी छन् । जहाँ, उनले आँचलसँगको प्रेम सम्बन्धका लागि गरेको त्याग, तपस्या र द्धन्द्धको कथा समावेश छ । 

फिल्ममा आँचल शर्मा, आर्शिवाद क्षेत्री, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ । ‘नाई नभन्नु ल’का अघिल्ला सिरिज जस्तै यसपटक पनि विकासले दर्शकलाई रुवाउने पक्का छ ।

सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्ममा विकासराज आचार्य र बिष्णुमणी दाहाल निर्माताको रुपमा छन् । फिल्ममा हिमाल केसीको एक्सन निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भूपेन्द्र अधिकारी, बसन्त सापकोटा र शरद शंकरको संगीत छ । 

फिल्मको अघिल्ला २ गीत कमजोर आएपछि सुस्त बनेको फिल्मको चर्चा ट्रेलरले केही हदसम्म माथि लैजाने निश्चित छ ।