एआई प्रविधिबाट नेपालमै पहिलो पटक फिल्मको पोस्टर निर्माण

चैत्रको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ चर्चामा छ । फिल्मको प्रचारका लागि यसको निर्माणपक्षले विभिन्न खालको प्रचार शैली अपनाइरहेको छ । डिजिटल प्रविधिमा बढी केन्द्रित यसको प्रचारका कारण पनि आम युवापुस्तामा फिल्मप्रति चासो अझै बढेको छ । 

यसैबिच, यो फिल्मको पोस्टर एआई प्रविधिबाट निर्माण गरिएको छ । नेपाली फिल्मका लागि पहिलो पटक एआई प्रविधिबाट पोस्टर तयार पारिएको हो । प्रिक्सा टेक्नोलोजिको रिरि नामक आर्टिफेसियल इन्टिलेजेन्स (एआई) सिस्टमबाट यो फिल्मको तस्विर निर्माण गरिएको हो । सुरक्षा पन्तका धेरै फोटोहरूलाई लिएर त्यसलाई रिरि सफ्टवेयरमा प्रशिक्षण दिएर उत्पादन गरिएको तस्वीर सार्वजनिक गरिएको हो । 

सो एआई प्रविधि प्रिक्साले आम मानिसकालागि भने अहिलेनै उपलब्ध गराएको छैन । नेपाली फिल्मको पहिलो एआई पोस्टर सार्वजनिक गर्न पाउँदा आफूहरूलाई खुशी लागेको यस फिल्मका निर्माता श्रीधर पौडेलले बताए । 

यो फिल्मलाई प्रमोद कँडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।