२९ बर्षमा अनमोल केसीः असफलताले निराशा, सकिएको छैन आशा
नेपाली फिल्म क्षेत्रका चर्चित नायक अनमोल केसी आजबाट २९ बर्षमा प्रवेश गरेका छन् । नायक केसीको जन्म आमा सुस्मिता बोमजम र पिता भुवन केसीको कोखबाट भएको हो ।
अनमोल केसीको परिवार फिल्म क्षेत्रमा नै होमिएका कारण उनलाई सानैबाट अभिनयमा सौख थियो । यसैले, उनले आफ्नै पिताले बनाएको फिल्म ‘साथी म तिम्रो’को एउटा गीतमा समेत नृत्य गरेका थिए ।
उनै, अनमोलले फिल्म ‘होस्टेल’बाट करिअरको सुरुवात गरे । पहिलो फिल्म नै बक्स अफिसमा चम्किएपछि अनमोलको क्रेज पनि ह्वात्तै चुलियो । यसपछि अनमोलले ‘जेरी, ड्रिम्स’ लगायतका फिल्ममा काम गरे । यी फिल्ममा काम गर्दासम्म अनमोलको क्रेज आकाशिएको थियो ।
नेपाली फिल्म क्षेत्रमा उनलाई नयाँ स्टारको रुपमा हेर्न थालियो । यूवायूवतीहरु अनमोलको नामबाटै फिल्म हलमा धाउन थाले । सायद, यही भएर पनि होला निर्माताले अनमोललाई चर्को पारिश्रमिक दिएर कामको अफर गर्न थाले । ‘गाजुल, कृ, ए मेरो हजुर ३, ए मेरो हजुर ४, क्याप्टेन, छड्के २’ लगायतका फिल्ममा काम गर्दा अनमोल केसी नेपाली फिल्म क्षेत्रका सर्वाधिक माग भएका नायक बनेका छन् ।
करिअरमा ९ वटा फिल्ममा काम गरेका अनमोलले दशौं फिल्मको रुपमा ‘जेरी अन टप’मा काम गर्दैछन् । यो बिषयमा अनमोल भन्छन्–‘अहिले नै यही फिल्ममा काम गर्छु भन्न सक्दिनँ । जुन फिल्मको पहिला प्रि प्रोडक्शन सकिन्छ, सोही फिल्ममा पहिला काम गर्छु होला ।’
पहिलो पटक असफलताले निराश
अनमोल केसीको करिअरमै उनले पहिलो पटक सुपर फ्लप फिल्म दिएका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा वास आउट नै भयो । फिल्मले देशभरबाट १० लाख रुपैयाँ पनि निर्माताको गोजीमा फिर्ता गर्न सकेन । अनमोल केसीको स्टारडमकै कारण यो फिल्मले इनिसियल व्यापार गर्ने विश्वास निर्माताको थियो ।
यो फिल्म असफल भएपछि अनमोलको आलोचना पनि भैरहेको छ । अनमोल केसीको अभिनय, उनको कामको आलोचना भैरहँदा उनले भने दशौं फिल्म आफ्ना लागि नयाँ सुरुवात हुने तर्क गरेका छन् ।
आशा बाँकी नै छ
अनमोल केसी मात्र एक यस्ता नायक होइनन्, जसले फिल्म क्षेत्रमा असफल प्रोजेक्ट दिएका छन् । करिअरको दौडमा स्टारहरुका फिल्म पनि असफल भएका उदाहरण थुप्रै छन् । यसैले, अनमोल निराश भैहाल्नुपर्ने अवस्था भने छैन । किनकी, उनमाथि लगानी गर्न चाहने निर्माताहरु अझै पनि उस्तै उत्साहित छन् । फिल्म बजारमा उनको मागमा कत्ती पनि कमी आएको छैन ।
तर, अनमोलले फिल्म छान्दा ध्यान भने दिनुपर्नेछ । साथमा, उनले आफूमा रहेका कमजोरीलाई विस्तारै हटाउन समेत आवश्यक छ । किनकी, सधै चकलेटी अनुहारले फिल्म चल्दैन ।
आज आफ्नो २९ औं जन्मदिन मनाइरहेका नायक अनमोल केसीलाई धेरै धेरै शुभकामना ।
प्रतिक्रिया