भिटेनसँग ‘रत्नपार्क’मा कुन्साङ


बुधबार बेलुकी फिल्म ‘प्रेमा’ हेर्न पुगेका मोडल कुन्साङ बोमजमले आफूले नयाँ फिल्ममा काम गरिरहेको र मिडियालाई चाँडै नै जानकारी दिने बताए । उनले, फिल्मको नाम केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । 

कुन्साङले फिल्मको नाम बताउन नचाहेपनि मेरो फिल्मले भने उनले काम गर्न लागेको नयाँ फिल्मको बारेमा थाहा पाएको छ । 

वुझिएअनुसार, र्‍यापर भिटेनले काम गर्न लागेको नयाँ फिल्म ‘रत्नपार्क’मा कुन्साङ पनि अनुबन्धित भएका छन् । यो फिल्मका लागि उनले वर्कशप समेत गरिसकेका छन् । बूढासुब्बाले बनाउन लागेको यो फिल्मलाई हरि हुमागाँइले निर्देशन गर्दैछन् । 

फिल्ममा नायिका उपासना सिंह ठकुरीले काम गर्ने चर्चा समेत छ । तर, उपासनाले काम गर्ने विषयमा निर्माण पक्षलाई पक्का भने गरिसकेकी छैनन् । 

कुन्साङले फिल्म ‘घुइचो’मा काम गर्ने पक्का भएको थियो । यो फिल्मको शुभ साइत समेत भयो । तर, पछि कुन्साङले फिल्मबाट हात झिके । म्युजिक भिडियोमा पनि ठीकठाक चलिरहेका यी चकलेटी हिरो ‘रत्नपार्क’मा देखिए भने उनका लागि पनि सुखद खबर हुनेछ ।