प्रदर्शन अगावै ‘जारी’ निर्माता नाफामा, विदेशमा उच्च माग
आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सका अनुसार फिल्मको अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने पक्का भैसकेको छ ।
नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्त्वपूर्ण उपलब्धि भएको निर्माता रामबाबु गुरुङले बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता फिल्म रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने पक्का भइसकेको छ ।
निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत सिनेमाले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । ‘जारी’ प्रदर्शन अगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ ।
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि फिल्म निर्माण भएको छ ।
सोसल ड्रामामा निमार्ण भएको फिल्मको गत साता रिलिज भएको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको विदेश व्यापारमा फाइदा मिलेको निर्माण टिमको बुझाई छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।
बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । फिल्ममा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रूपमा रहेका छन् ।
प्रतिक्रिया