गरिमाको डेब्यू फिल्म: रिलिज कहिले ?

निर्देशक घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘लण्डन टू पेरिस’ बारम्बार पछि सर्यो । लण्डनमा छायांकन गरिएको यो फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । 

यो फिल्म मोडलबाट नायिका बन्दै गरेकी गरिमा शर्माका लागि विशेष छ । किन कि, यो उनको डेब्यू फिल्म हो । यसबाट उनको फिल्म क्षेत्रमा भाग्यपरिक्षा समेत हुनेछ । तर, फागुनको ५ गते रिलिज हुन नसकेर पोस्टपोन्ड भएको यो फिल्म अब कुन मितिमा रिलिज हुन्छ निर्माण पक्षले पक्का गर्न सकेको छैन । 

यो फिल्मलाई एबी प्रोडक्शनले निर्माण गरेको हो । एबी प्रोडक्शनले नै निर्माण गरेको अर्को फिल्म ‘हनी बनी’ पनि कहिले रिलिज हुन्छ टुङ्गो लागेको छैन । 

एबी प्रोडक्शनले फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई पनि बलियो तरिकाले रिलिज गरेको थिएन । यसैले, एबीकै नयाँ २ फिल्मको रिलिज पनि कुन तरिकाले कहिले हुन्छ, भन्न सकिने अवस्था छैन । 

गरिमाले अर्को फिल्म ‘ह्रस्व दीर्घ’मा पनि काम गर्ने पक्का भएको छ । तर, कलाकारको जम्बो टोली रहेको यो फिल्मले गरिमा शर्मालाई कुन उचाइ दिन्छ, अहिले नै भन्न नसकिएला । यसैले, गरिमाका लागि ‘लण्डन टू पेरिस’ महत्त्वपूर्ण छ । 

म्युजिक भिडियोमा समेत गरिमाको चर्चा खास छैन । यस्तो अवस्थामा उनका लागि फिल्मको यात्रा महत्त्वपूर्ण रहने पक्का छ । तर, डेब्यू फिल्म रिलिजमै देखिएको आलटालले गरिमालाई हिस्स बनाउने त होइन ?