जनकदिप ‘प्रोड्यूसर’को नाम भजाउँदै, दीपशिखा अरुकै नाम काटेर निर्देशक


नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा शनिबार जनकदिप पराजुली निर्विरोध विजयी भए । उनी, यसअघिका कार्यसमितिमा महासचिव पदमा विजयी भएका थिए । निर्देशक समाजको अध्यक्ष पदमा विजयी भएका पराजुलीले आजसम्म एउटा मात्र फिल्म निर्देशन गरेका छन् ।

उनले, निर्देशन गरेको फिल्म ‘प्रोड्युसर’ हो । करिब ९ बर्ष अगाडि रिलिज भएको यो फिल्म  बक्स अफिसमा सुपरफ्लप भएको थियो । यो फिल्मपछि जनकदिपले नयाँ फिल्म निर्देशन गर्ने साहस गरेका छैनन् । बरु, उनी निर्देशक समाजको महत्वपूर्ण पदमा हालिमुहाली गरिरहेका छन् । 

उपाध्यक्ष पदमा दीप शिखा खड्का र सुभाष गजुरेल निर्विरोध विजयी भए । रोचक कुरा त के छ भने, निर्देशक समाजमा रहेर निर्देशकहरूको हकहितमा काम गर्छु भन्ने दीप शिखाले आजसम्म एउटा पनि फिल्म निर्देशन गरेकी छैनन् । उसो भए, उनी कसरी निर्देशक समाजमा पुगिन् भन्ने पाठकलाई लाग्न सक्छ । 

उनले, निर्माण गरेको फिल्म ‘प्रेमलिला’का निर्देशक अर्कै थिए । तर, निर्देशकसँग लफडा भएपछि दीप शिखाले नाम नै हटाइदिइन् । फिल्म सेन्सर गर्ने समयमा निर्देशकको नाम आवश्यक पर्ने भएकाले दीप शिखाले आफ्नै नाम राखिन् ।

सोही फिल्मका कारण उनी निर्देशक समाजमा निर्वाचन लड्ने अवसर पाएकी हुन् । भाग्य मानी दीप शिखाले उपाध्यक्ष पद नै हात पारिन् । युट्युबमा राखिएको ‘प्रेमलीला’को क्रेडिटमा दीप शिखाको नाम कथा, पटकथा तथा संवादमा मात्र उल्लेख छ । सेन्सर सर्टिफिकेटमा भने उनले आफ्नै नाम राखेकी छिन् । उपाध्यक्ष पदमा नै विजयी भएका कलाकार सुभाष गजुरेलका नाममा पनि त्यति धेरै फिल्म छैन । सुभाष गजुरेलले ‘बसाई, माया बैगुनी’ लगायतका फिल्म निर्देशन गरेका छन् । 

महासचिव पदमा निर्वाचित भएका अरुण कुमार प्रधानको पनि निर्देशनमा उल्लेखनीय योगदान छैन । उनले ‘यो साइनो मायाको’ नामक फिल्म मात्र निर्देशन गरेका छन् । यस्तै, सचिव पदमा निर्विरोध निर्वाचित भएका देवेन्द्र पाण्डेले ‘वान साइड लभ र भिलेन’ नामक २ फिल्म निर्देशन गरेका छन् ।

कोषाध्यक्ष पदमा निर्विरोध विजयी भएकी समुन्द्र भट्ट पनि फिल्म क्षेत्रमा विस्तारै चिनिदैछिन् । उनले निर्देशन गरेको फिल्म ‘गुलाबी’ रिलिजका लागि तयार भएको छ । उनले निर्देशन गरेको ‘आधा पेज र रिङ् रोड’ले खासै कमाल गरेनन् । 

सह–कोषाध्यक्ष पदमा निर्वाचित राज बस्न्यात पनि खासै चिनिएका निर्देशक होइनन् । उनले ‘सकिन भुल्न तिमीलाई र तडप’ फिल्म निर्देशन गरेका छन् । 

सदस्यमा विजयी भएका दीपक वलीले ‘कुम्भ कर्ण, पण्डित बाजेको लौरी, रोल्पा रोग, कृष्ण लीला’ जस्ता फिल्म निर्देशन गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्म ‘कामिनो’को छायांकन केही दिनमै सुरु हुँदैछ । 

यस्तै, सदस्य पदमा नै निर्विरोध विजयी भएका अम्बर ओलीले ‘धर्तीपुत्र, वे टू इन्जुरी, आरोप, चोट’ लगायतका फिल्म निर्देशन गरेका छन् । 

यस्तै, सदस्य पदमा नै निर्विरोध निर्वाचित भएका सत्य राज चौलागाईंले ‘अन्तरे, विच्छेद, मेरो कथा, अनुराग’ लगायतका फिल्म निर्देशन गरेका छन् । उनले, ‘म यस्तो गीत गाउँछु, के म तिम्रो होइन र, भाग सानी भाग, को आफ्नो, कोहिनुर, मायाको बारीमा’ लगायतका फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका छन् । 

निर्देशक सौरभ चौधरीले फिल्म ‘लभ डायरीज’ निर्देशन गरेका छन् । उनी, नयाँ फिल्म ‘अगस्त्य’को निर्देशन गर्ने तयारीमा छन् । 

यस्तै, निर्देशक समाजको सदस्य पदमा निर्विरोध विजयी भएका उत्सव केसी, अमृतमान महर्जनले पनि त्यस्तो कुनै आशातीत फिल्म निर्देशन गरेका छैनन् । 

निर्देशक समाजप्रति नाम चलेका र फिल्म क्षेत्रमा थुप्रै आशा लाग्दा फिल्म दिएका निर्देशकहरूको रुची देखिएको छैन । शनिबार सम्पन्न निर्वाचनमा पनि निरन्तर फिल्म निर्देशन गरिरहेका निर्देशकहरूको उपस्थिति फितलो थियो ।

निर्देशक समाजमा निर्वाचित भएका एकाध निर्देशकलाई छाड्ने हो भने अधिकांश ल फिल्म निर्देशनमा दर्शक माझ गतिलो छाप छाड्न सकेको देखिँदैन । यसैले, उनीहरूले निर्देशकहरूको निर्देशकीय क्षमता विकासमा कसरी काम गर्लान्, प्रश्न उठाउन सकिन्छ ।