फिल्मी संघसंस्थाको निर्वाचनमा राजकुमार राईको चर्को राजनीति


नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा मोहन निरौला विजयी भए । मोहनलाई चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्माता राजकुमार राईको साथ थियो । ३ बर्ष अगाडि भएको निर्वाचनमा पनि राजकुमार राईले सरिता लामिछानेलाई साथ दिँदा अर्का निर्माता रोज राणाले रवीन्द्र खड्कालाई साथ दिएका थिए । सो समयमा पनि कलाकार संघको निर्वाचन राजकुमार भर्सेज रोजको भएको चर्चा चलेको थियो । 

शनिबार सम्पन्न भएको नेपाल चलचित्र निर्देशक समाजको निर्वाचनमा पनि राजकुमार राईले ठूलो राजनीति गरेको आरोप निर्देशकहरूको छ । चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा उठेर पनि अन्तिममा उम्मेदवारी फिर्ता लिएकी सुचित्रा श्रेष्ठले घुमाउरो तरिकाले राजकुमारले राजनीति गरेको आरोप लगाइन् । अनौपचारिक कुराकानीमा पनि उनले राजकुमारले आफूलाई भोट माग्नेहरूलाई थर्काएको बताएकी थिइन् । 

चलचित्र सम्बन्धी हरेक संघ संस्थाको निर्वाचनमा विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको उपस्थिति अनिवार्य जस्तै बनेको छ । यतिसम्म कि, चलचित्र पत्रकार संघको निर्वाचनमा समेत राजकुमार राइको सक्रियता खुबै रहन्छ । 

शनिबार सम्पन्न निर्वाचनमा जनकदिप पराजुली अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए । जनकदिपलाई सहज बनाउनका लागि राजकुमारले केही निर्देशकहरूलाई उनीहरूले घोषणा गरेको पदमा उठ्नै नदिएको आरोप समेत केही निर्देशकहरूको छ ।

उनीहरूले, हरेक संघसंस्थामा राजकुमार राई किन अतिथि बनेर पुग्छन् र चरम राजनीति गर्छन् भन्दै मेरो फिल्मसँगको कुराकानीमा चरम असन्तुष्टि जनाएका थिए । निर्देशक समाज अरू नै व्यक्तिहरूको गोटी भएर चल्दा फाइदा कसलाई हुन्छ भन्ने प्रश्न उनीहरूको थियो । 

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा रहिसकेका र निर्माता संघको अध्यक्ष पद पनि सम्हालिसकेका राजकुमार राईलाई हरेक संघसंस्थाको  निर्वाचनमा किन यति धेरै चासो हुन्छ ? किन उनी जित र हारको खेलमा सक्रिय भएर लाग्छन् ? किन उनी आफूले समर्थन गरेका उम्मेदवारको नाममा चिट वितरण गर्छन् ? यस विषयमा हामीले राजकुमार राईलाई नै प्रश्न गर्यौ । उनको  जवाफ यहाँ जस्ताको जस्तै उल्लेख गरिएको छः

म चलचित्र कर्मी हो । म निरन्तर रुपमा चलचित्र क्षेत्रमा लाग्ने मानिस हो । यसैले, केही नराम्रो कुराहरू पनि आउँछन् । मैले कहाँ हस्तक्षेप गरेको छु, त्यसको विश्लेषण गरौँ न । यो प्रजातान्त्रिक पद्धतिमा कसैलाई समर्थन गर्नु मेरो मौलिक अधिकार हो ।

यसो भन्दै गर्दा उसको विपक्षीमा उठेको उम्मेदवारलाई मैले गाली गलौज गर्दै हिँडेको छैन । कुनै व्यक्ति वा उसको समूह आउनुपर्छ भन्नु मेरो अधिकार होइन । मलाई चुनावी दौरानमा २० पटक फोन गरेर बोलाएपछि म नआउनु त । तर, चुनावी समयमा मलाई आँखाको तारो बनाइन्छ । म चलचित्र कर्मी भएको नाताले मसँग सल्लाह सुझाव लिन आउँछन्, म सुझाव नदिनु त ।
 
म आम नागरिक र एक चेतना भएको नागरिक भएकाले मैले फिल्म क्षेत्रको हरेक पाटामा काम गरेकाले यसलाई मैले अरुसँग सेयर नगर्ने । फिल्म उद्योगमा मेरो लगानी कति छ ? म यति लामो समयसम्म यहाँ काम गरिरहेको छु । मैले कसलाई के गरेको छु ? चुनावी प्रक्रियामा आउँदा विपक्षी मानिसहरूले जे पनि भन्छन् । यसमा मलाई कुनै टिप्पणी गर्नु नै छैन ।