भावुक हुँदै सुचित्राले भनिन्–‘अब अग्रजको सम्मान र नयाँलाई प्रोत्साहन मैले विर्सिएँ’


नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति आज चयन भएको छ । तर, नयाँ कार्यसमिति चयनका क्रममा देखिएको चरम राजनीतिले भने निर्देशक समाजलाई झनै छिन्नभिन्न बनाइदिएको छ । 

निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर पनि निर्देशक सुचित्रा श्रेष्ठले छाडिन् । सुचित्राले उम्मेदवारी फिर्ता लिएपछि सम्पूर्ण निर्देशकहरूलाई सम्बोधन गर्दै अब, आफूले निर्देशक समाजमा अग्रजको सम्मान र नयाँलाई प्रोत्साहन भन्ने बिर्सिएको बताइन् ।

उनले भनिन्–‘निर्देशक समाजमा धेरै परिवर्तन आइसकेको रहेछ । यहाँ चरम राजनीति हुँदोरहेछ । हामीले अर्कै विषयमा सहमति गर्यौ । तर, निर्वाचनमा नाटक मञ्चन भयो । मेरा लागि भोट माग्ने धेरै अग्रजहरूले गाली खानुभएको छ । म सबैसँग माफी माग्न चाहन्छु । अरूका लागि भोट माग्नेहरूलाई गाली गर्न पाइँदैन ।’

निर्देशक समाजको  निर्वाचनमा तलबाट नै भोट माग्ने प्रथाको विकास हुनुपर्ने उनको भनाई थियो । 

निर्देशक समाजको निर्वाचनमा उम्मेदवारी दिने भनेर तयार भएका धेरै निर्देशकहरू पछि हटे । उनीहरूले, निर्वाचनमा चरम राजनीति भएको भन्दै आफूहरू पछि हटेको गुनासो गरे ।