‘जारी’ ट्रेलर: पतिपत्नीबीचको सम्बन्धमा आएको उतारचढाव

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को ट्रेलरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो ।

शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ।

लिम्बु समुदायमा प्रचलित जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी- ४’मा मुख्य भूमिकामा देखिएका थिए।