कलाकारलाई महोत्सवको क्रेज हलमा फर्काउनै सकस
रुकुममा आयोजना भएको एक महोत्सवमा सहभागी हुन केही दिन अगाडि नायक पल शाह हेलिकप्टर चार्टर गरेर पुगे । हवाइजहाजमा नआउने बताएपछि आयोजकले पल शाहलाई हेलिकप्टरमा लग्यो । उनलाई हेर्नका लागि दर्शकको भीड पनि लाग्यो । एक बर्ष लामो जेल जीवन बिताएर फर्किएका कारण पनि पल शाहमाथि दर्शकको उत्साह देखिएको छ ।
पल शाह जेलबाट बाहिर निस्किएपछि उनलाई हेर्नेको भीड कारागार बाहिरदेखि एयरपोर्ट हुँदै महोत्सवसम्म देखिएको छ । तर, अब उनले यो भिडलाई हलसम्म ल्याउन सक्छन् या सक्दैनन् त्यो भने परिक्षा हुन नै बाँकी छ ।
नायक आर्यन सिग्देल पनि पलपछि रुकुममै आयोजना भएको महोत्सवमा पुगे । काठमाडौं बाहिर आर्यन यसअगाडि पुग्दा पनि दर्शकको बाक्लो भीड लागेको छ । आर्यनले आज आफू दर्शककै कारण यो स्थानमा रहेको उल्लेख गरेका छन् । तर, आर्यनका फिल्मले भने हलमा दर्शक बटुल्न सकेका छैनन् । आर्यन निरन्तर असफल फिल्मका कारण समस्यामा छन् ।
महोत्सवमा देखिएको क्रेज हलमा देखिएको छैन । यस्तो समस्या नायक राजेश हमालले पनि भोगिरहेका छन् । हमाल पनि कुनै महोत्सवमा पुग्दा दर्शकको ठूलो भीड लाग्छ । तर, उनका फिल्मले पनि हलमा दर्शक तान्न नसकेपछि विगत ५ बर्षदेखि उनले पनि फिल्ममा काम गर्न नै सकिरहेका छैनन् ।
हलमा दर्शक नहुने, तर महोत्सवमा भीड लाग्ने कारण के होला ? हल बाहिर देखिएको भिडलाई हलसम्म तान्न कलाकारले पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया