विज्ञापनमा बोलेको आवाजले करिश्माको आलोचना


नायिका करिश्मा मानन्धरले नेपाली फिल्म क्षेत्रमा ४ दशक बिताइसकिन् । नेपाली फिल्म क्षेत्रमा सुन्दर नायिकाको उपमा पाएकी करिश्मा आज पनि फिट र हिट छिन् । पछिल्ला केही बर्षमा करिश्माको अभिनय यात्रा भन्दा पनि राजनीतिक यात्रा बढी चर्चामा छ । साथै, उनले अध्ययनका लागि विद्यालय भर्ना भएपछि झनै तारिफ कमाइन् । 

करिश्माले कैयौं फिल्ममा उम्दा अभिनय गरेकी छिन् । तर, २ दिन अगाडि सार्वजनिक भएको उनी अभिनित एक विज्ञापनले भने उनको अभिनयमाथि नै प्रश्न उठाइदिएको छ । 

करिश्माले ‘बोस सोलार वाटर हिटर’को विज्ञापनमा काम गरेकी छिन् । करिश्मा आफैले सामाजिक संजालमा पोष्ट गरेको भिडियोमा पनि अधिकांश दर्शकले उनको अभिनय र संवाद बोल्ने शैलीको कडा आलोचना गरेका छन् । कतिपयले करिश्मालाई सस्तो विज्ञापनमा काम नगर्न पनि सुझाव दिएका छन् । 

भिडियो हेर्दा, करिश्माको संवाद उदेकलाग्दो छ । उनले, जुन तरिकाले संवाद बोलेकी छिन् त्यो सुन्दा हाँसो लाग्छ । 

नेपाली फिल्म क्षेत्रमा ‘महानायिका’को समेत उपाधि पाएकी करिश्माको यस्तो फितलो संवाद बोल्ने शैलीले उनकै मजाक बनाइरहेको छ । करिश्माले अब यस्तो बिषयमा ध्यान दिन आवश्यक छ ।