धुर्मुसको आग्रह - 'मलाई पलपल नमारिदिनुस्'

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्।

धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे धुर्मुसले स्पस्टिकरण दिएका छन्।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका उनले आफूमाथि लागेको आरोप र क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका हुन्। यस्तै उनले, रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह समेत गरेका छन् ।

धुर्मुसले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको बताएका छन्।

धुर्मुस भन्छन् , ‘यदि एक रुपैयाँपनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ। देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्। कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्‍याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस्।’

यस्तै, उनले अघि भनेका छन्- 'सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ । तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ।’

धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई धन्यवाद पनि दिएका छन् ।