कलाकार संघको अध्यक्षमा जितेपनि मोहन निरौला खुशी भै हाल्ने अवस्था छैन
शनिबार बेलुकी नायिका रेजिना उप्रेतिलाई नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा पछि पार्दै बरिष्ठ कलाकार मोहन निरौला अध्यक्ष पदमा बिजयी भए ।
मोहन चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष समेत थिए । निवर्तमान अध्यक्ष रविन्द्र खड्काको साथ पाएका मोहनले निर्वाचनमा भने अधिकांश पुराना कलाकारदेखि फिल्म क्षेत्रमा राजनीति गर्न माहिर मानिएका फिल्मीकर्मीको साथ पाएका थिए ।
राजकुमार राईदेखि बसुन्धरा भुषाल, सरिता लामिछाने, रविन्द्र खड्का, मनोज केसी लगायतका फिल्मीकर्मीले उनका लागि रात दिन नभनी भोट मागे । नायिका रेजिना उप्रेतिको पक्षमा भने शोभित बस्नेत, राजेन्द्र खड्गी लगायत देखिए ।
मोहन निरौला नेपाली फिल्म क्षेत्रका पुराना र अनुभवी कलाकार हुन् । जसले कैयौं कलाकारलाई अभिनयको तालिम समेत दिएका छन् । सामाजिक संजालमा उनलाई गुरु भन्दै समर्थन गर्ने धेरै कलाकार भेटिन्छन् । तर, पनि मोहनको पक्षमा २२६ मत मात्र आयो । रेजिनाले भने २०० मत ल्याइन् । रेजिनालाई भोट दिएका करिब डेढ दर्जनले हस्ताक्षर गरेका कारण म तबदर भयो । होइन भने, मोहनले रेजिनालाई मुश्किलले जित्ने देखिएको छ ।
तर, २६ मतको अन्तर पनि रेजिनासँग चुनाव लडेका मोहनका लागि धेरै ठूलो होइन । यसैले, निरौलाले कलाकार संघको अध्यक्ष पद सम्हाल्दै गर्दा खुशी भैहाल्ने अवस्था छैन । उनी, विशेषगरि नयाँ कलाकारसम्म पुग्नै नसकेको देखिन्छ ।
अबको दिनमा मोहनलाई नयाँ कलाकारदेखि नाम चलेका कलाकारहरुलाई कलाकार संघप्रति आकर्षित गर्नुपर्ने ठूलो चुनौती छ । चुनावमा भोट दिन त नाम चिनिएका कलाकारलाई मुश्किलले देख्नुपर्ने अवस्थामा ३ बर्षे कार्यकालमा मोहन तातो कुर्सीमा बसेका छन् ।
पछिल्लो समय कलाकारहरु निरन्तर बिबादमा परिरहेका छन् । सामाजिक संजालमा कलाकारप्रतिको सम्मान हराउँदै गएको छ । यस्तो अवस्थामा, कलाकार संघलाई मर्यादित र व्यवस्थित कसरी बनाउने, कलाकारको हराउँदै गएको प्रतिष्ठा कसरी फिर्ता गर्ने भन्ने बिषयमा निरौला चनाखो हुन आवश्यक छ ।
प्रतिक्रिया