रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश


नायिका रेजिना उप्रेतिले शनिबार सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा पराजय भोगिन् । रेजिनालाई अध्यक्ष पदमा मोहन निरौलाले पछि पारे । रेजिनाले चुनाव हार्दा खुशी हुने र निराश हुने उस्तै देखिए । किनकी, मोहनले रेजिनालाई २६ मत अन्तरले मात्र पराजित गरेका थिए । 

मोहनको पक्षमा कलाकार वसुन्धरा भुषालदेखि सरिता लामिछानेसम्म खुलेरै लागेका थिए । मोहनलाई चुनाव जिताउनमा कलाकार वसुन्धरा भुषालको पनि ठूलो हात रहेको बताइन्छ । मोहनले निर्वाचन जित्दा वसुन्धरा मध्यरातसम्म निर्वाचन स्थलमै थिइन् । 

कतिपय फिल्मीकर्मीले महिलाले नै महिलालाई नेतृत्वमा पुगेको हेर्न नचाहेको भन्दै टिप्पणी समेत गरेका छन् । कलाकार संघको चर्को आलोचना गर्दै आएका निर्देशक तथा कलाकार शोभित बस्नेतले महिलाले नै महिलालाई सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

उनले लेखेका छन्–‘एक नारी सबैमाथि भारी भन्ने कुरा यो कलाकार संघको निर्वाचनले तिमी टाउके पुरुषहरूलाई देखायो । तर, प्रथम नायिका हाँस्य साम्राज्ञीलाई पनि नारीले काम गर्लान् भन्ने विश्वास रहनेछ । अबदेखि कुनै पनि कार्यक्रममा नारीको बारेमा कुरा नगर दिदी हो ।’

शोभितले बाहिर नारी नेतृत्वको चर्को भाषण दिने अनि आवश्यक पर्दा नारीलाई नै सम्पर्क नगर्ने भन्दै आलोचना गरेका हुन् ।