‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न, चैत्र १० बाट छायांकन
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । फिल्मको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा वर्कशप गरिएको निर्देशक लामाले जानकारी दिए । अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो ।
कलाकारहरूको वर्कशपमा नायक दयाहाङ राई, कर्म, नायिका मिरुना मगरको साथमा कलाकारहरू शिशिर बाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए ।
कलाकारहरूलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकार बीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशिल बनाइएको निर्माणपक्षले बताएको छ ।
कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका विषयमा विश्लेषण गरिएको निर्देशक लामाले बताए । लामाले भने–‘मैले अहिलेसम्म यति घनीभूत किसिमले वर्कशप गरेको थिइँन । कलाकार तथा प्राविधिकहरूले सक्रियता पूर्वक सहभागिता जनाउँदा खुशी लागेको छ ।’
राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कशपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने नायक दयाहाङ राईले बताए । नायिका मिरुना मगरले वर्कशप निकै फलदायी भएको सुनाइन् ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल बाहिर रहेकाले पनि उनी वर्कशपमा सहभागी हुन पाइनन् । यो फिल्मको छायांकन चैत्र १० गतेबाट काभ्रेमा सुरु गर्ने योजनामा यसको निर्माण पक्ष छ । यो फिल्मलाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।
प्रतिक्रिया