मेरोफिल्म डटकम छैठौं वर्षमा
नेपालको रंग पत्रकारिता आरोपको बिस्कुनबाट गुज्रिरहेको छ । पैसामुखी भएको र पत्रकारिताका मूल्य मान्यताप्रति निरपेक्ष रहेको यो विधाका पत्रकारले खेपिरहेको आम आरोप हो । त्यसैले हाम्रो पहिलो प्रयास यस्ता आरोप चिर्नमा केन्द्रित रहेको छ । संस्कृतमा एउटा भनाइ छ, ‘मनोहारी हितकारी वचनम् च दुर्लभम्’ अर्थात् सुन्दा सधैँ मीठो लाग्ने र त्यसले भलो पनि गर्ने कुराहरू दुर्लभ्य छन् । त्यसैले हाम्रो दोस्रो प्रयास ‘मनोहारी’ वचन सँगसँगै ‘हितकारी’ वचन प्रवाह गर्नमा पनि लक्षित रहेको थियो । त्यो प्रयास स्वरूप मेरोफिल्म डटकमले आजबाट औपचारिक रूपमा छैटौं वर्षमा प्रवेश गरेको छ ।
नेपाली फिल्मसम्बन्धी अनलाइन पत्रिकाहरूको संख्या उल्लेख्य वृद्धि भइरहेको समयमा हामीले नेपाली फिल्म क्षेत्रलाई फरक ढंगले नियाल्न र फिल्म क्षेत्रको समस्या औँल्याउँदै त्यसमा सुधार ल्याउन गरेको प्रयासले आज ५ वर्ष पूरा गरेर ६ वर्षमा यात्रा तय गर्दै छ । हाम्रा लागि यी ५ वर्ष धेरै कुरामा सम्झन लायक रहे । २०७२ सालको विनाशकारी भूकम्पबाट मुलुक बिस्तारै जागिरहँदा र नेपाली फिल्मले भूकम्पलाई बिर्सेर आफ्नो लय समातिरहँदा सुरु भएको मेरोफिल्म डटकमको यात्रा उतारचढावपूर्ण रह्यो ।
फिल्म व्यावसायिक वस्तु हो । अर्थात् निर्माताले लाखौँ र करोडौँ लगानी गरेर फिल्म निर्माण गरिरहँदा त्यो फिल्मको व्यावसायिक उन्नति होस् भन्ने जोकोहीको चाहना हुन्छ । समग्र चलचित्र पत्रकारिताको चाहना पनि यही हो । तर चाहे जस्तो कहिल्यै पनि हुन सक्दैन । किनकि हामीले अनलाइन सुरु गरेयता सयौँ फिल्म प्रदर्शनमा आए । कति व्यावसायिक रूपमा सफल भए कति फिल्महरूको अवस्था सोच्नै नसकिनेसम्म पनि भयो । यो अवस्थामा हामीले निष्पक्ष, स्वतन्त्र भएर पत्रकारिताको धर्म निर्वाह गरिरह्यौँ । पत्रकारितामा तारिफ र गाली दुवै स्वीकार्य हुन्छ । अझ चलचित्र पत्रकारिताको कुरा गर्दा यहाँ तारिफ कम, बढी गाली पाइन्छ । हामीले यो कुरालाई सहर्ष स्विकार्दै हाम्रो यात्रालाई निरन्तरता दिइरह्यौँ ।
५ वर्षको यात्रामा फिल्मका राम्रा पक्षको मात्र प्रशंसा गरेनौँ, नराम्रो कुराको उत्तिकै आलोचना पनि गर्यौँ । आलोचना यस अर्थमा कि आलोचना भन्नु कुनै पनि कुरा सुधार्नु हो । सही वा गलत छुट्याउन सक्नु मानिसको गुण हो । हामीले त्यही गुणलाई मेरोफिल्ममार्फत् निर्वाह गर्यौ । वर्तमान परिप्रेक्ष्यमा मिडिया सञ्चालन गर्नु आफैँमा जोखिमपूर्ण काम हो । अझ फिल्मसँग सम्बन्धित अनलाइन पत्रिका सञ्चालन गर्नु अर्को ठुलो जोखिम हो । हामीले त्यो जोखिमलाई बुझेर अझ शिरोपर गरेर अगाडि बढ्ने निर्णय लियौँ । त्यही निर्णयले हामीलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरिसकेको छ भन्दा फरक नपर्ला । किनकि हाम्रा विषयवस्तु रोचक, घोचकसँगै सचेतक पनि छ ।
यो यात्रामा हामीले विश्वव्यापी महामारीका रूपमा रहेको कोभिडलाई पनि अनुभव गर्यौ । कोभिड महामारीका कारण मुलुक लकडाउनको चपेटामा परिरहँदा हामीले पत्रकारितालाई चपेटामा नपारी काम गर्यौ । महामारीका समयमा कलाकारको सहयोग होस् या महामारीका कारण दुःखमा परेका कलाकारका बारेमा समाचार सम्प्रेषण गर्न पछि परेनौँ ।
मुलुक अहिले नयाँ चरणमा प्रवेश गरिसकेको छ । स्थानीय, संघीय र प्रदेश निर्वाचनपछि मुलुकले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सभामुख र उपसभामुख पाइसकेको छ । राजनीतिक सन्तुलन र असन्तुलन बिच पनि पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्न बिर्सिएका छैनन् । त्यही नबिर्सिएका कुरालाई अङ्गाल्दै मेरोफिल्म पनि अगाडि बढिरहेको छ । नेपाली फिल्म होस् या मनोरञ्जन क्षेत्रका लागि मेरोफिल्म सधैँ सँगै रहनेछ । सँगै रहेर पनि तारिफ र कमजोरी खोट्याउने काम भने जारी नै रहनेछ । यो यात्रामा हामीलाई साथ दिनुहुने विज्ञापनदाता, पाठक, शुभचिन्तक र सहकर्मीहरूलाई सम्झन चाहन्छौँ । आगामी दिनमा पनि हामीसँगको यो सौहार्दपूर्ण सहकार्यले निरन्तरता पाउनेमा ढुक्क छौँ ।
प्रतिक्रिया