कलाकार संघ निर्वाचन: अध्यक्ष पदमा मोहन र रेजिनाबीच कडा प्रतिस्पर्धा

नेपाल चलचित्र कलाकार संघको मतदान प्रक्रिया सम्पन्न भएको छ । शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा भएको मतदानमा ४ सय ६८ सदस्य सहभागी थिए ।

निर्वाचनमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेती प्रतिष्पर्धी छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने मतदानमा सहभागी अधिकांशको अनुमान छ । खास गरी अधिकांश आजीवन सदस्यको मत मोहनलाई र नयाँ पुस्ताको मत रेजिनालाई जाने प्रारम्भिक आँकलन गरिएको छ ।

मतदान गर्न पुराना पुस्ता वसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शिव श्रेष्ठ, सुनील थापा, भुवन केसी, गौरी मल्लदेखि नयाँपुस्ताका दयाहाङ राई, अनु शाह, बुद्धी तामाङ, विजय बराललगायतका कलाकार मतदानमा सहभागी भएका थिए ।

कडा प्रतिष्पर्धा देखिएको चुनावमा हालसम्मको मतदानलाई नजरअन्दाज गर्ने हो भने कसले जित्ने भन्ने यकिन अनुमान कसैले लगाउन सकेका छैनन् । तर प्रारम्भिक अनुमान अनुसार अध्यक्ष पदमा जसले जिते पनि सानो मतान्तरको फरक हुने मतदानमा सहभागी सदस्यहरुको बुझाई छ ।

निर्वाचनमा मोहनको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल उम्मेदवार रहेका छन् भने महासचिवमा सविन श्रेष्ठ रहेका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामाले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै रेजिनाको प्यानलबाट उपाध्यक्षमा शिवहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सदस्यमा रञ्जना खड्का ‘खुस्बु’, खिन्न भण्डारी ‘भोला’, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भीमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।

यसअघि निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनी बुधबार नै निर्वाचित भएकी थिइन् ।

निर्वाचन समितिका अनुसार मतगणना आजै साँझ सात बजे देखि सुरु हुने भएको छ ।